फिल्म ‘पिताम्बर’को टिजर रिलिज कार्यक्रममा एकअर्काको तारिफमै सकियो समय
काठमाडौं : निर्मात्रीहुँदै निर्देशनमा हात हालेकी कृषा चौलागाईले सामाजिक कथाबाट एकैपटक एक्सन जनरामा हाम फालेकी छन्। उनले प्रदीप खड्का, दयाहाङ राई र सौगात मल्ललाई लिएर एक्सन जनराको फिल्म ‘पिताम्बर’को निर्माण गरेकी छन्। जुन फिल्मको रिलिज आगामी चैत २९ मा नयाँ वर्षको छेको पारेर प्रदर्शन हुँदैछ।
सोमबार निर्माण टिमले काठमाडौंको बिगमुभिज्को हलमा टिजर सार्वजनिक गर्यो। निर्देशक कृषाकै भाइ बिशाल चौलागाई निर्माता रहेको यो फिल्मको टिजरमा फिल्मका कलाकार दिव्य देवले महाभारतको उद्धरण ‘यदा यदा ही धर्मस्य’बाट वाचन गरेपछि सुरू भएको छ।
टिजरमा फिल्मका मुख्य कलाकारहरू प्रदीप खड्का, अनुपविक्रम शाही, दयाहाङ राई, सौगात मल्ल, सुरक्षा पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, रविन्द्र झा अटाउने प्रयास गरिएको छ। अझ बढि टिजरमा प्रदीप र सौगातको एक्सनलाई विशेष स्थान दिइएको देखिन्छ।
टिजरमा कलाकार रविन्द्रले ‘कथामा बहुत ट्वीस्ट भयो, दुई वटा पिताम्बरको एउटै कथा छ’ भनी बोलेको संवादले फिल्ममा दुई पिताम्बर हुन् कि भन्ने छनक दिन्छ।
सामाजिक कथामा फिल्म ‘ऐंचो पैंचो’ बनाएपछि उनले बनाएको यो एक्सन फिल्म हो। उनका अनुसार ‘पिताम्बर’ले नेपाली दर्शकमाझ नयाँ कथा भन्नेछ।
कार्यक्रममा अभिनेत्री सुरक्षा पन्तले अभिनेता प्रदीप खड्काको प्रशंसामा समय खर्चिइन्। पत्रकारले प्रदीपलाई कुन रुपमा हेर्न चाहना हुन्छ, एक्सन र लभस्टोरी? भन्दा उनले प्रदीप दुवैमा फिट हुने कलाकार भएको बताइन्। अझ बढि उनलाई एक्सनमा आफूले हेर्न चाहेको बताइन्।
अभिनेता खड्काले फिल्मको बारेमा भन्नु भन्दा पनि टिजरले सबै कुरा बोलेको र आफूले सक्दो प्रयास गरेको दाबी गरे। कार्यक्रममा सबैभन्दा उत्साहित अभिनेत्री सुपुष्पा भट्ट देखिएकी थिइन्। किनभने उनले फिल्ममा अभिनय नगरेको लामै समय भइसकेको थियो। आफ्नै घरको व्यानरमा निर्माण भएको फिल्म ‘दिमाग खराब’को एउटा मात्र गीतमा नाचेकी थिइन्। जुन फिल्म गत वर्ष प्रदर्शनमा आएको थियो।
यस पटक भने उनले २ वटा फिल्ममा अभिनय गरेकी छन्। आफ्नै श्रीमानले निर्माण गरेको फिल्म ‘फेरि रेशम फिरीरी’मा अभिनय गरेकी छन्। जुन प्रदर्शनको तयारीमा छ। त्यसैले पनि होला, यो फिल्ममा उनले काम गर्न पाउँदा निकै उत्साहित देखिएकी हुन्।
यता अभिनेता दिलिप रायमाझीकी छोरी दिव्या रायमाझीले डेब्यु फिल्म भएकाले निकै कठिन भएको बताइन्। यो फिल्ममा अभिनय गर्दा प्रदीप खड्काको गालीले सेटमा नै रुनु परेको कुरा सुनाइन्।
केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा प्रदीप, दयाहाङ, सौगातका अलावा आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट,विनोदकुमार पौडेल,नारायण काफ्ले र रविन्द्र भट्टराईको अभिनय छ।
फिल्ममा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह-निर्माता, सुमन गौतम कार्यकारी निर्माता, प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन, आशीष अविरल र बाबुल गिरीको संगीत, हिमाल केसीको द्वन्द्व छ।
फिल्म आरआर फिल्मस्ले वितरण गर्दैछ। यसअघि निर्देशक कृषाले फिल्म ‘इन्साफ’, ‘कसम हजुरको’, ‘के म तिम्रो साथी बन्न सक्छु’ र ‘पलास’ निर्माण गरिसकेकी थिइन्।
पुष २९, २०८१ सोमबार २१:४५:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।