माइती नेपाललाई एक करोड सहयोग गर्ने प्रधानमन्त्री ओलीको घोषणा
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक संस्था माइती नेपाललाई एक करोड रूपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।
माइती नेपालको गौशालास्थित केन्द्रीय कार्यालयमा आज स्थलगत अवलोकन गरी संस्थाको अक्षय कोष वृद्धि गर्न उक्त रकम दिने घोषणा गरेका हुन्।
चेलीबेटी बेचबिखनविरूद्ध लामो समयदेखि कार्यरत संस्थाका गतिविधिबारे संस्थापक अनुराधा कोइरालासहित पदाधिकारी, आश्रित महिला र बालबालिकासँग उनले छलफल गरेका थिए। छलफलपछि सरकारले गर्नुपर्ने काममा संस्थाले सघाइरहेकाले यसको अक्षय कोष वृद्धि गर्ने घोषणा गरेका हुन्।
प्रधानमन्त्री ओलीले नागरिकको रक्षा र हेरचाहको जिम्मेवारी सरकारको भए पनि विविध सीमा र कतिपय अप्ठ्याराका कारण गर्न नसकिएका कामलाई यस्ता संस्थाले निरन्तरता दिएकोमा सन्तोष व्यक्त गरे।
प्रधानमन्त्री ओलीले संस्थामा सञ्चालित पुनःस्थापना गृह, बाल संरक्षण गृह, एचआइभी उपचारको एआरटी केन्द्र, टेरेसा एकेडेमी स्कुललगायतको अवलोकन गरे।
पुष २९, २०८१ सोमबार २०:५६:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।