सुकुटेबाट कार्यकर्ताकै अगाडि भौतिक मन्त्रालयका सचिवलाई फोन गरेर प्रचण्डले के भने ?
सिन्धुपाल्चोक : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढीपहिरोबाट क्षतिग्रस्त सडकको तत्काल मर्मत गरी सहजरूपले सञ्चालन गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरेका छन्।
सिन्धुपाल्चोकको सुकुटेमा पार्टीका नेता, कार्यकर्ता, जनप्रतिनिधि र सुरक्षा अधिकारीसँग बाढीपहिरो प्रभावित क्षेत्रको पुनर्निर्माण लगायतका विषयमा जानकारी लिएपछि उनले भौतिक योजना मन्त्रालयका सचिवलाई फोन गरेर यस्तो आग्रह गरे।
उनले तत्काल सरकारले मर्मतमा मात्रै ध्यान दिँदा पनि आवागमन सहज हुने अवस्था रहेकाले तत्काल मर्मत कार्य अघि बढाएर पुनर्निर्माणलाई गति दिन आग्रह गरे।
काठमाडौं-सिन्धुपाल्चोक खण्डमा दुई वटा बेलीबृज बनाउने र पहिरो गएको खण्डमा राम्रोसँग मर्मत गर्ने हो भने आवागमन सहज हुने अवस्था रहेको उनले बताए।
माघ १ देखि ५ सम्म सञ्चालन हुने आठौं पुरुष र सातौं महिला राष्ट्रिय बीच भलिबल प्रतियोगिताको उद्घाटन गर्न प्रचण्ड सुकुटे पुगेका हुन्।
उनको साथमा पूर्वसभामुख एवं माओवादी उपाध्यक्ष अग्निप्रसाद सापकोटा, प्रतिनिधिसभा सांसद माधव सापकोटा, बागमती प्रदेशसभा सदस्य युवराज दुलाल, केन्द्रीय सदस्य रामप्रसाद सापकोटा दीपशिखा लगायत छन्।
पुष २९, २०८१ सोमबार २०:३०:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।