एमालेले कारबाही गरेपछि आफू सेलिब्रेटी भएकोमा उषाकिरण खुसी, नागरिक अगुवाहरू आक्रोशित
काठमाडौं : मायाको पहिचान नेपालले सोमबार आयोजना गरेको अन्तरक्रियामा वक्ताहरुले राजनीतिक दलहरूले भिन्न मत राख्नेहरूलाई कारबाहीको डन्डा चलाएर लोकतन्त्रमाथि धावा बोलेको धारणा राखेका छन्। दलहरूमा लोकतान्त्रिकरण आवश्यक भएको उनीहरूले भनेका छन्।
वृहत् नागरिक आन्दोलनका अगुवा संजिव उप्रेतीले दलहरुभित्र लोकतन्त्रको अभ्यास कमजोर रहेकाले नागरिक तहबाट खबरदारी आवश्यक भएको बताए।
‘दलको नेतृत्वप्रति प्रश्न उठाउँदा कारबाही गर्ने, पार्टीभित्रको गलत निर्णय हुँदा औंला उठाउने जोकोही कारबाहीमा पर्नु लोकतान्त्रिक होइन। यसका लागि नागरिक तहबाट खबरदारी जरुरी छ,’ उनले भने।
एमालेको स्थायी कमिटी सदस्यबाट निलम्बनमा परेकी बिन्दा पाण्डेले आफूले उठाएको मुद्दा ठिक हो भन्नेहरूको संख्या ठूलो रहेको बताउँदै समाजवाद उन्मुख पार्टीको निर्णय गलत भएको बताइन्।
‘मौलिक हक र अभिव्यक्ति स्वतन्त्रताको हक संविधानले व्यवस्था गरेको छ। संविधानभन्दा माथि कुनैप नि राजनीतिक दल हुन सक्दैन। पार्टीहरूले मत र मन जितेर अघि बढ्नुपर्छ। एमालेले हामीहरूमाथि गरेको निर्णय गलत छ,’ उनले भनिन्, ‘म ६ महिना होइन एक बर्ष कारबाही भोग्न तयार छु। तर, सत्य बोल्न छाड्दिनँ।’
आफू जन्मिँदै एमाले भएको बताउँदै पाण्डेले आजीवन एमाले भएर बस्ने प्रतिबद्धता पनि जनाइन्।
उनले संविधान संशोधन संख्याका आधारमा हुने भन्दै संख्या नपुगे संविधान संशोधन नहुने बताइन् । उनले संविधान संशोधनका लागि जनमत आवश्यक पर्ने पनि बताइन् ।
त्यस्तै, एमालेकै केन्द्रीय कमिटी सदस्यबाट निलम्बनमा परेकी उषाकिरण तिमल्सिनाले पार्टीले कारबाही गर्दा आफूहरू सेलिब्रेटीजस्तो भएपनि पार्टीभित्र निराशा छाएको बताइन्।
‘हामी एमालेमै राजनीति गर्ने हो। तर, कानुन र समाजलाई असर पर्ने गरीका निर्णय मान्न तयार हुन सकिँदैन,’ उनले भनिन्।
कार्यक्रममा माओवादी केन्द्रका रामकाजी महर्जन, सीता गौडेललगायतले सार्वजनिक मुद्दामा बोल्दा कारबाही गरिनु गलत भएको बताए।
कार्यक्रममा मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले लोकतान्त्रिक दलहरूमा भिन्न मत राख्नेहरूलाई स्पेस नदिनु दुःखद भएको बताए।
उनले भने, ‘फरक मत राख्नेहरूलाई कारबाहीको डन्डा चलाइनु लोकतान्त्रिक विधि होइन। दलहरुभित्र लोकतान्त्रिकरण आवश्यक छ।’
पुष २९, २०८१ सोमबार २०:१३:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।