बुहारीको हत्या आरोपमा फरार सासु चार वर्षपछि पक्राउ

बुहारीको हत्या आरोपमा फरार सासु चार वर्षपछि पक्राउ

काठमाडौं : रौतहट प्रहरीले बुहारीको हत्या आरोपमा फरार भएकी सासुलाई चार वर्षपछि पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतबाट खटिएको प्रहरी गस्ती टोलीले ६२ वर्षीय सायरा खातुनलाई पक्राउ गरेको हो। 

चार वर्षअघि आफ्नै बुहारीको हत्या आरोपमा फरार भएकी खातुनलाई पुस २६ मा गढीमाई नगरपालिका-२ समनपुरबाट पक्राउ गरेको रौतहट प्रहरी निरीक्षक उमाशंकर प्रसादले बताए। 

खातुनले २०७७ साल जेठ ८ मा आफ्नै छोरा मो.इन्ताज चुडिहारकी २२ वर्षीय श्रीमती निसनारा खातुनलाई हत्या गरेको प्रहरीको दाबी छ। घटनापश्चात् उनी फरार भएकाले प्रहरीले खोजी गरिराखेको उनले उल्लेख गरेका छन्।

पारिवारिक विवादकै कारण सायरा खातुनले निसनारा खातुनलाई कुटपिट गर्दै मुखमा कपडा कोचेर हत्या गरेको प्रहरी निरीक्षक प्रसादले बताए।

अदालतबाट जारी भएको पक्राउ पुर्जी दिएर खातुनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रहरीका अनुसार रौतहट जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान भइरहेको छ।  

पुष २९, २०८१ सोमबार १८:५२:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।