बुधबारसम्म हिरासतमै रहने छन् रवि लामिछाने
काठमाडौं : काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज पनि हिरासतमै रहने भएका छन्। आज थुनछेक बहस नसकिएपछि न्यायाधीशले उनलाई प्रहरीसँगै पठाउने आदेश गरे।
थुनछेक बहसका क्रममा बोल्दै उनले आफैं अदालतमा आउने प्रतिबद्धता जनाएका थिए, तर न्यायाधीश माधवप्रसाद अधिकारीले प्रहरीकै जिम्मा लगाउन आदेश दिएका हुन्।
रवि अब आज र भोलि हिरासतमै रहनेछन्। मंगलबार सार्वजनिक बिदा भएकाले मुद्दाको अर्को सुनुवाइ बुधबारमात्रै हुनेछ। त्यतिबेलासम्म लामिछाने न्यायिक हिरासतमै रहनेछन्।
जिल्ला अदालत कास्कीले सूर्यदर्शन सहकारीको रकम ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा ६५ लाख धरौटीमा रिहा गरे पनि उनलाई अन्य अदालतमा मुद्दा रहेको भए बुझाउन भन्ने आदेश नदिँदा उनी हिरासतमुक्त भएका थिए।
बिहीबार बेलुका हिरासतमुक्त भएका उनले शुक्रवार आफैँ काठमाडौँ जिल्ला अदालतमा हाजिर हुने बताए पनि उनी आइतबार मात्र उपस्थित भएका थिए। आइतबार बिहान अदालत हाजिर भएका उनको बयानको काम सुरु भएको थियो।
उनको बयान सकिएपछि आइतबारै थुनछेक बहस सुरु गर्न तयारीपछि सरकारी पक्षले आफूहरूले लामिछानेको बयान अध्ययन नगरेको भन्दै थुनछेक बहस सुरु नगर्न अनुरोध गरेपछि न्यायाधीशले रविलाई न्यायिक हिरासतका लागि प्रहरीमा बुझाउन आदेश दिए।
त्यसअघि स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको अभियोगमा फरार रहेका जीवी राई, रवि लामिछानेसहित ३९ जनाविरूद्ध अभियोग पत्र दर्ता भएको छ। यही पुस २१ मा जिल्ला अदालत काठमाडौंमा दर्ता भएको अभियोग पत्रमा सो सहकारीको एक अर्ब १९ करोड बचत ठगी भएको दाबी गरिएको छ।
रवि लामिछाने र जीवी राई सम्बन्धी तीन वटा भौचर र फाइल फेला पारेको भन्दै यी दुवैविरूद्ध पाँच करोड आठ लाख बिगो कायम गर्न माग गरिएको छ। अभियोग पत्रमा जीवीसहितको समूहले बदनियतपूर्वक गोर्खा मिडिया प्रालि लगायतका विभिन्न कम्पनीहरू खडा गरेर योजनाबद्ध रूपमा सहकारीको रकम अपचलन गरेको दाबी गरिएको छ।
पुष २९, २०८१ सोमबार १६:५२:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।