बेलायत पुगेर शेखरले भने 'ओली सरकारले अध्यादेश ल्याएर कांग्रेसलाई पनि अप्ठ्यारो पारिदियो'
काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सत्ताधारी कांग्रेसलाई पनि अप्ठ्यारोमा पारेको बताएका छन्।
नेपाली जनसम्पर्क समिति बेलायतले लण्डनमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले संसद सुचारू नगरेर अध्यादेश ल्याएकोमा विरोध गर्दै उनले अध्यादेशको कारण आफूहरूलाई पनि अप्ठ्यारो परेको बताए।
उनले भने, ‘अहिले फेरि पनि अध्यादेश आएको छ। संसद बोलाएर चल्नुपर्ने बेलामा अध्यादेश ल्याउनुपर्ने जरुरत थिएन। पटक्कै थिएन। अहिले आएको अध्यादेश यस्तो जरुरी पनि होइन कि सरकारको कामै रोक्ने पनि होइन। हामीले संसदीय प्रणालीमा अघि बढिरहेका छौं । तर, काम चाहिँ निरंकुशतातिर अघि बढेको छ कि भन्ने डर भइरहेको छ। त्यो अध्यादेश ल्याएर कांग्रेसलाई अप्ठ्यारो पारिदिने, किनभने हामी त लोकतान्त्रिक पार्टी हौं नि!’
उनले प्रधानमन्त्री ओलीले ०८७ मा मात्रै संविधान संशोधन हुन्छ भन्नु हास्यास्पद भएको बताए।
‘हामीले संविधान संशोधनसहितको ७ बुँदा भनेका छौं तर प्रधानमन्त्रीजीले ०८७ सम्ममा संविधान संशोधन गर्न सक्दैनौं भनेर बोलिदिनुभयो। आफ्नै पार्टीभित्र, ०८४ मा चुनाव हुँदैछ, उहाँले ०८७ को कुरा बोल्दिनुभयो। यो हास्यास्पद हो,’ उनले भने।
संविधान कांग्रेस र एमालेले मात्रै नभएको भन्दै उनले थपे, ‘माओवादी, मधेशवादी दल सबैको सुझाव लिएर संशोधन गर्नुपर्छ यो कांग्रेस र एमालेको डकुमेन्ट होइन। त्यसैले हामी गलत तरिकाले अगाडि बढ्न खोजिरहेका छौं।’
उनले प्रधानमन्त्री ओली र ऊर्जामन्त्री दीपक खड्का विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध लागेको भन्दै आलोचना गरे।
पुष २९, २०८१ सोमबार १६:१५:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।