सार्क सम्मेलनबारे जयशंकरले आरजुलाई सोधेका थिए 'तिम्रो देशमा आएर मान्छे मारेको भए मिटिङ हुन्थ्यो?'

सार्क सम्मेलनबारे जयशंकरले आरजुलाई सोधेका थिए 'तिम्रो देशमा आएर मान्छे मारेको भए मिटिङ हुन्थ्यो?'

काठमाडौं : परराष्ट्रमन्त्री आरजु राणा देउवाले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को बैठक राख्न निरन्तर पहल गरिरहेको बताएकी छन्। 

सोमबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा उपस्थित भएकी मन्त्री राणाले सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा सार्क बैठक राख्न निरन्तर पहल गरेपनि सम्भव नभएको बताइन्।

सांसदहरूले नेपाल सार्कको अध्यक्ष भएपनि किन बैठक हुन नसकेको भनेर प्रश्न गरेका थिए।

जवाफमा परराष्ट्रमन्त्री राणाले बैठकबारे भारतीय समकक्षी एस जयशंकरसँग कुराकानी गरेको तर, भारत-पाकिस्तान तनावका कारण सम्भव नभएको बताइन्।

‘स्टेट हेडको बैठक बस्न सबै सहमत हुनुपर्छ। सेप्टेम्बरमा मैले भारत जाँदा सार्कको विषय उठाएको थिएँ,’ समितिको बैठकमा राणाले भनिन्, ‘जयशंकरजीले भन्नुभयो- तिम्रो देशमा आएर मान्छे मारेको भए मिटिङ हुन्थ्यो?’

जयशंकरको उक्त जवाफपछि आफूले केही भन्न नसकेको भन्दै उनले थपिन्, ‘त्यसपछि मैले केही भन्न सकेको छैन।’ 

भारतले पाकिस्तान समर्थित आतंकवादीले आफ्नो देशमा मान्छे मारेको भन्दै सार्क शिखर सम्मेलनमा बस्न अस्विकार गर्दै आएको भएपनि मन्त्री राणाले नेपालको तर्फबाट प्रयास भने जारी रहेको बताइन्। 

पुष २९, २०८१ सोमबार १५:४५:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।