परराष्ट्रमन्त्री देउवाले सुनाइन् प्रधानमन्त्री ओलीको संयुक्त राष्ट्रसंघ र चीन भ्रमणको उपलब्धि

परराष्ट्रमन्त्री देउवाले सुनाइन् प्रधानमन्त्री ओलीको संयुक्त राष्ट्रसंघ र चीन भ्रमणको उपलब्धि

काठमाडौं : परराष्ट्रमन्त्री आरजु राणा देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन र संयुक्त राष्ट्रसंघको भ्रमणबारे जानकारी गराएकी छन्।   

सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा भएको बैठकमा उनले प्रधानमन्त्रीबाट संयुक्त राष्ट्र संघको ७९ औं महासभामा भएको सहभागिताले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ बनाउन र विश्व मञ्चमा नेपाललाई सशक्त रुपमा प्रस्तुत गर्न योगदान पुगेको र चीन भ्रमणमा पनि नेपाल र चीनबीचको सम्बन्ध र सहयोग सम्बन्धी महत्वपूर्ण छलफल भएको बताइन्। 

उनले भनिन्, ‘प्रधानमन्त्रीबाट संयुक्त राष्ट्र संघको ७९ औं महासभामा भएको सहभागिताले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ बनाउन र विश्व मञ्चमा नेपाललाई सशक्त रुपमा प्रस्तुत गर्न योगदान पुगेको छ। चीन भ्रमणको क्रममा चीनसँग व्यापार लगानी, अन्तरदेशिय यातायात सञ्जाल र आर्थिक सामाजिक साझेदारी वृद्धि गर्दै लैजाने दिशा तर्फ दुई पक्षीय सम्बन्ध राम्रो हुनुपर्ने कुरा भएको र नेपाल र चीनको सम्बन्ध थप उचाइमा लैजानको लागि भावी कार्य दिशा समावेश गरिएको छ।’

उनले प्यालेस्टाइनको पक्षमा भएको एउटा विशेष बैठकमा भाग लिँदै विपिन जोशीको रिहाइको लागि पहल गरेको पनि बताइन्। 

उनले भनिन्, ‘प्यालेस्टाइनको पक्षमा त्यहाँ भएको युद्ध सम्बन्धी एउटा स्पेशल बैठक भएको थियो। त्यसमा पनि मैले भाग लिएको थिएँ, त्यो बेला मैले विपिन जोशीको रिहाईको लागि पहल गरेको थिएँ।’ 

पुष २९, २०८१ सोमबार १५:१५:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।