कुनै दल फुटाउने र मिलाउन अध्यादेश सिफारिस गरिएको होइन : प्रधानमन्त्री

कुनै दल फुटाउने र मिलाउन अध्यादेश सिफारिस गरिएको होइन : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल विभाजनसम्बन्धी कानुनलाई सच्याउनुपर्ने आवश्यकता भएपनि कुनै दललाई फुटाउने र मिलाउने काम आफ्नो नभएको दाबी गरेका छन्। 

नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई आज प्रधानमन्त्री निवास, बालुवाटारमा बधाई तथा शुभकामना दिने क्रममा प्रधानमन्त्री ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लाग्यो भनेर झुठ र नकारात्मकता फैलाइएको बताए। उनले कुनै पनि दल मिल्ने र फुट्ने ती दलको आन्तरिक विषय भएको बताए। 

उनले विगतमा आफू प्रधानमन्त्री हुँदा कुनै दल विभाजन हुने स्थिति आएमा संसदीय दल र केन्द्रीय कमिटी दुवैमा ४० प्रतिशत पुर्याउनुपर्ने संविधानको व्यवस्था कार्यान्वयनमा जटिलता आएकाले संसदीय दल वा केन्द्रीय कमिटीमा ४० प्रतिशतको प्रबन्ध गरेर अध्यादेश ल्याए पनि विरोध आएपछि फिर्ता लिएको बताए। 

तत्कालीन समयमा विरोध गर्नेहरूले नै पछि २० प्रतिशत सांसदले विभाजन गर्न पाउने भन्ने व्यवस्था गरेर दल विभाजन गराएको स्मरण गर्दै उनीहरुले नै अहिले अध्यादेशको विरोध गरिरहेको उनको भनाइ थियो। तर, आफूले भने त्यसो गर्ने कुनै मनसाय नरहेको प्रधानमन्त्री ओलीको दाबी छ।  

प्रधानमन्त्री ओलीले मुलुक विकास र जनताका सेवालाई ध्यानमा राखेर सरकारले राष्ट्रपतिसमक्ष विभिन्न अध्यादेश सिफारिस गरेको बताए। त्यस विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विरोध गरेको भनी झुटो वक्तव्य प्रचार गरिएको उल्लेख गर्दै यस्ता घटनाबाट नेपाली पत्रकारिता बच्नुपर्ने उनको भनाई छ।

यस्ता सूचना र समाचारका कारण जनताको सूचनाको हकको घाँटी निमोठिने भएकाले लोकतन्त्रको दुरुपयोग हुन नदिन पत्रकार महासङ्घले भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए। 

पुष २९, २०८१ सोमबार १४:३४:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।