एनवाईईएफ स्टार्टअप अवार्ड्स ४.० सम्पन्न, विजेता बन्यो ‘डीएल अपलोड’
एजेन्सी : नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ)काठमाडौं च्याप्टरले ग्लोबल आईएमई बैंक प्रस्तुत एनवाईईएफ स्टार्टअप अवार्ड्स ४.० सम्पन्न गरेको छ।
नेपाली स्टार्टअपहरूको नवप्रवर्तनात्मक भावना र उद्यमशील उत्कृष्टताको उत्सव स्वरूप आयोजित यस कार्यक्रमलाई काठमाडौंको प्रतिष्ठित हयात रेजेन्सी होटलमा आयोजना गरिएकाे थियाे।
कार्यक्रममा १५० भन्दा बढी विशिष्ट पाहुनाहरू सहभागी भएकाे आयोजककाे भनाइ छ। कार्यक्रममा यस वर्षको विजेता डीएल अपलोडलाई ४ लाख रूपैयाँ नगद पुरस्कारसहित प्रतिष्ठित स्टार्टअप अवार्ड प्रदान गरिएकाे थियाे।
पहिलो उपविजेता मेल्ट डाउनलाई २ लाख रूपैयाँ नगद पुरस्कार प्रदान गरियो भने खेतीपाती अर्गानिक्सले अडियन्स पिक अवार्ड जित्दै एक लाख रूपैयाँ प्राप्त गर्यो।
कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारी र विशेष अतिथि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल थिए।
कार्यक्रममा बोल्दै चन्द्रप्रसाद ढकालले स्टार्टअपहरूलाई आर्थिक वृद्धि र नवप्रवर्तनमा महत्त्वपूर्ण भूमिका खेल्ने विषयमा जोड दिए। प्रमुख अतिथि प्रा.डा. शिवराज अधिकारीले स्टार्टअपहरूलाई सफल बनाउन अनुकूल नीति निर्माणको आवश्यकता औँल्याए।
एनवाईईएफ काठमाडौं च्याप्टरका अध्यक्ष अभिमन्यु गोल्छाकाे नेतृत्वमा एनवाईईएफ स्टार्टअप अवार्ड्स ४.०ले नवीनता र उद्यमशीलतालाई प्रेरणा दिने उत्कृष्ट मञ्चको रूपमा व्यापक प्रशंसा प्राप्त गरेकाे बताइएकाे छ।
कार्यक्रममा डीएल अपलोड, मेल्ट डाउन, खेतीपाती अर्गानिक्स, ज्ञान बजार, ई-कागजपत्र, माच२० अर्बिटल्स र स्मार्टपालिक गरी सात स्टार्टअपहरू अन्तिम चरणमा पुगेका थिए।
एनवाईईएफ स्टार्टअप अवार्ड्सले राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा सफलताका लागि नेपालको सबैभन्दा आशाजनक स्टार्टअपहरूको पहिचान र सम्मान गर्ने महत्त्वपूर्ण मञ्चको रूपमा भूमिका निर्वाह गर्दै आयोजककाे भनाइ छ।
एनवाईईएफ काठमाडौं च्याप्टरले नेपालमा समृद्ध उद्यमशील प्रणाली निर्माण गर्न निरन्तर प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेकाे छ।
पुष २९, २०८१ सोमबार १०:३९:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।