अभिनेताबाट निर्माता बनेपछि सलोनको अनुभव- ‘सोचे झैँ जीन्दगी रैनछ’
काठमाडौं : नेपालमा एकपछि अर्को कलाकारले फिल्म निर्माणमा हात हालेका छन्।
केही समयअघि नीता ढुंगानाले ‘ह्रस्व दीर्घ’ निर्माण गर्दा दर्जनौं फिल्ममा सह-अभिनेताको भूमिका निर्वाह गरेका कलाकार सलोन बस्नेत पनि फिल्म निर्माणमा होमिए।
सलोनले श्रीमती करिश्मा केसी बस्नेतलाई निर्माताको रूपमा अघि सार्दै फिल्म ‘रंगी’ बनाए। फागुन २ गतेलाई प्रदर्शन मिति तोकेर फिल्मको टोली अब प्रचारप्रसारमा निस्किए।
कलाकारहरू फिल्म निर्माणमा होमिँदा उनीहरूको अनुभव भने खास नभएको सुनाउँछन्।
‘ह्रस्व दीर्घ’ निर्माणपछि नीताले अरुको फिल्ममा काम गर्नुभन्दा आफैँले फिल्म निर्माण गर्दा निकै कठिन हुने अनुभव सुनाएकी थिइन्।
अहिले सलोनको अनुभव पनि नीताको भन्दा कम छैन। आइतबार फिल्म ‘रंगी’को गीत ‘छ भने माया’ रिलिजको क्रममा सलोनले फिल्म निर्माणमा भोग्नुपरेको केही तीतो अनुभव सुनाए।
‘फिल्म निर्माणको क्रममा साथ दिने र नदिनेहरू सर्लक्कै छुट्टिँदो रहेछ। को चाहीँ साच्चिकै आफ्नो हो र को चाहीँ भन्नका मात्र आफ्ना थिए भन्नेबारे यहाँ आएर थाहा पाएँ मैले’, उनले भने।
घरको ब्यानरको फिल्ममा पनि उनले व्यवस्थापनको पाटो खासै हेरेनन्। उनका बुवा नै त्यसमा सक्रिय हुन्थे। पहिलो पटक व्यवस्थापनको पाटो पनि सम्हाल्दा भोगेका समस्याले आफूलाइ झनै दह्रो बनाएको अनुभव गर्छन् उनी।
उनले अगाडि भने, ‘एउटा कलाकारको रूपमा बसिरहेको मान्छे म, मेकर भइसकेपछि धेरै कुराहरू परिवर्तन आउँदो रहेछ। यो क्रममा धेरै मानिस चिनियो पनि।’
सलोनले आफ्नी छोरी सान्भी बस्नेतको नाममा ‘सान्भी इन्टरटेनमेन्ट प्रालि’ खोलेर त्यसमार्फत नै फिल्म निर्माण गरेका हुन्। बुवाले नै आफूलाई त्यसो गर्न सल्लाह दिएको सलोनले सुनाए।
सुरेश न्यौपानेको डेब्यु निर्देशनमा बनेको फिल्मको निर्माताको रुपमा सलोनकी श्रीमती करिश्मासँगै सक्षम सुवेदी र अनिश गौतम छन्।
फिल्ममा सलोनको साथमा, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, विशाल पहारी लगायतका कलाकारहरूले अभिनय छ। सुमन गजमेरको लेखनमा बनेको फिल्मलाई सौरभ लामाले छायांकन गरेका हुन्।
दुर्गेश थापाको शब्द तथा संगीत रहेको आइतबार रिलिज भएको ‘छ भने माया’ बोलको गीतमा आनन्द कार्की र सुजता केसीको स्वर छ।
पुष २९, २०८१ सोमबार ०९:५९:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।