विपद्मा सरकारको ‘तीव्र’ गति : भूकम्पको १५ महिनापछि पुनः निर्माण र पुनः स्थापना योजना स्वीकृत
काठमाडौँ : जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प आएको ठ्याक्कै १५ महिना भयो। २०८० कात्तिक १७ को मध्यरात जाजरकोट केन्द्र भएर भूकम्प गएको थियो। अझ डोटीमा त २०७९ कात्तिकमा भूकम्प गएको थियो।
२०८१ पुस २८ मा आएर सरकारले बल्ल डोटी तथा जाजरकोट केन्द्रबिन्दु भएर भएको भूकम्पपश्चात्को क्षति आङ्कलन, निजी आवास पुनः निर्माण तथा प्रबलीकरण प्रक्रिया प्रारम्भ गर्ने निर्णय गरेको छ।
आइतबार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १६औँ बैठक बसेको थियो। सो बैठकले पश्चिम नेपाल भूकम्प तथा २०८१ को मनसुनजन्य विपद्पश्चात्को पुनः निर्माण तथा पुनः स्थापनाका लागि योजना स्वीकृत समेत गरेको छ।
प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक बसेको थियो।
बैठकले क्षतिको विस्तृत यथार्थ मूल्याङ्कन गरी पुस २१ को विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकको निर्णयको सिफारिसबमोजिमको योजना स्वीकृत गरेको हो।
बैठकले माघ २ देखि लाभग्राहीसँग सम्झौता प्रक्रिया प्रारम्भ गरी पुनः निर्माण सुरु गर्ने र क्षतिको विस्तृत आङ्कलन (डिडिए) नभएका क्षेत्रमा सोही दिनदेखि डिडिएको प्रक्रिया प्रारम्भ गर्ने निर्णय गरेको छ।
बैठकले योजनाबमोजिमका क्रियाकलापको कार्यान्वयनका लागि स्रोत व्यवस्थापन गर्न अर्थ मन्त्रालयलाई सम्बन्धित मन्त्रालय, प्रदेश र स्थानीय तहले आग्रह गर्ने तथा मन्त्रालयले सम्बन्धित निकायलाई यथाशीघ्र निकासा दिने गरी प्रबन्ध गर्न निर्देश समेत गरेको छ।
स्रोत परिचालनका लागि अर्थ मन्त्रालयले र पुनः निर्माण र पुनः स्थापनाका लागि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय प्राधिकरणको समन्वयमा साझेदार संस्थाको सहकार्यमा कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको हो
बैठकले २०८० मा सङ्खुवासभालगायत जिल्लामा बाढीजन्य विपद्मा परी बेपत्ता तथा मृत्यु भएका व्यक्तिका परिवारलाई २०८१ असार ३१ को मन्त्रिपरिषद्को निर्णयबमोजिम नै हुने गरी राहत उपलब्ध गराउन प्राधिकरणलाई निर्देशन समेत दिएको छ।
२०८१ असार ३१ को मन्त्रिपरिषद्ले विपद्मा परी बेपत्ता भएकाहरू १० दिनसम्म फेला नपरेका तत्कालीन समयमा विवरण सङ्कलन भएका परिवारलाई मृतकका सरह राहत उपलब्ध गराउने निर्णय गरेको थियो।
पुष २८, २०८१ आइतबार २०:५१:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।