निभिक्स फार्मास्युटिकल्सले आइपिओ जारी गर्ने निर्णय

निभिक्स फार्मास्युटिकल्सले आइपिओ जारी गर्ने निर्णय

काठमाडौँ : तनहुँको दमौलीमा उत्पादन केन्द्र रहेको निभिक्स फार्मास्युटिकल्सले सर्वसाधारणका लागि लगानी खुला गर्दै आइपिओ जारी गर्ने निर्णय गरेको छ। पोखरामा बसेको कम्पनीको सातौँ वार्षिक साधारण सभाले आइपिओमा जाने औपचारिक निर्णय गरेको हो।

प्राइभेट लिमिटेडको रूपमा सञ्चालनमा आएको कम्पनीलाई ७ वर्षपछि पुसदेखि पब्लिक लिमिटेडमा रूपान्तरण गरिएको थियो। मुटु रोग, मधुमेह, श्वासप्रश्वास, कलेजो र पेटका रोगहरूसम्बन्धी झन्डै दुई दर्जन औषधी बजारमा उपलब्ध छन् भने थप दुई दर्जन उत्पादनको तयारी भइरहेको कम्पनीका प्रबन्ध निर्देशक इन्द्र बनियाले बताए।

हाल कम्पनीको अधिकृत पुँजी र जारी पुँजी ५५ करोड रुपैयाँ तथा चुक्ता पुँजी २५ करोड रुपैयाँ रहेको छ। बाँकी लगानीका लागि चालु आर्थिक वर्षभित्र सर्वसाधारणका लागि आइपिओ जारी गर्ने तयारी गरिएको कम्पनीले जनाएको छ।

साथै, उक्त आइपिओ निष्कासनका लागि कम्पनीले नेपाल एसबिआई मर्चेन्ड बैङ्किङ लिमिटेडलाई इस्यु म्यानेजर नियुक्त गरेको छ।

पुष २८, २०८१ आइतबार १७:५९:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।