१ खर्ब ७ अर्ब ६६ करोड कृषि अनुदान लैजानेको विवरण सार्वजनिक, दुरुपयोगको जानकारी भए सूचना दिन मन्त्रीको आग्रह

१ खर्ब ७ अर्ब ६६ करोड कृषि अनुदान लैजानेको विवरण सार्वजनिक, दुरुपयोगको जानकारी भए सूचना दिन मन्त्रीको आग्रह

काठमाडौँ : कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट पाँच वर्षमा १ खर्ब ७ अर्ब ६६ करोड २७ लाख रुपैयाँ कृषि अनुदानमा खर्च भएको खुलेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले आइतबार आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्म कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट लगिएको अनुदान र अनुदान लाने कृषि सहकारी, कृषि समूह तथा कृषि फर्महरूका नाम सार्वजनिक गरेका हुन्।

उनका अनुसार यस अवधिमा मन्त्रालयबाट प्रत्यक्ष र अप्रत्यक्ष गरी दुई प्रकारका अनुदान प्रवाह भएका छन्। त्यसमध्ये प्रत्यक्षतर्फ मन्त्रालय अन्तर्गत सञ्चालित स्वदेशी तथा विदेशी लगानीमा सञ्चालित परियोजनामार्फत कृषि सहकारी,  कृषि समूह तथा कृषि फर्मले २० अर्ब ३० करोड ३० लाख  १४ हजार रुपैयाँ लगेका छन्।

अप्रत्यक्षतर्फ अनुदानित रासायनिक मल  ८७ अर्ब ३५ करोड ९७ लाख ७३ हजार रुपैयाँ अनुदानमा वितरण भएको मन्त्री अधिकारीले जानकारी दिए। 

मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि नै उनले कृषि अनुदानको रकम दुरुपयोग भएको आशङ्का व्यक्त गर्दै अनुदान लिनेको नाम सार्वजनिक गर्ने बताउँदै आएका थिए। सोही अनुसार आइतबार उनले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट अनुदान लैजानेहरूको नाम सार्वजनिक गरेका हुन्। मन्त्री अधिकारीले अनुदान रकमको प्रयोगबारे खोज्न आग्रह समेत गरे।

‘मन्त्रालयबाट लगिएका र दिइएका  अनुदानको अवस्था के कस्तो छ भनेर अध्ययनका लागि हामीले समिति नै गठन गरेर काम सुरु गरिसकेका छौँ,’ उनले भने, ‘कृषि अनुदान लगेर दुरुपयोग गरिएको छ भने कारबाही हुन्छ र हुनुपर्दछ। त्यस कार्यमा तपाईँहरूको पनि साथ र सहयोगको अपेक्षा गरेको छु।’

कृषि सहकारी र समूहले लगे  २० अर्ब ३० करोड ३० लाख  १४ हजार

कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट प्रत्यक्षतर्फ (मन्त्रालय अन्तर्गत सञ्चालित स्वदेशी तथा विदेशी लगानीमा सञ्चालित परियोजनामार्फत) कृषि सहकारी, कृषि समूह तथा कृषि फर्ममार्फत पछिल्लो ५ वर्षमा १० अर्ब ५८ करोड ७६ लाख ४६ हजार रुपैयाँ अनुदान प्रवाह भएको जनाएको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले आइतबार आर्थिक वर्ष २०७६र ७७ देखि २०८०र८१ सम्म कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट अनुदान लाने कृषि सहकारी, कृषि समूह तथा कृषि फर्महरूका नाम सार्वजनिक गर्दै प्रत्यक्ष ५ वटा आयोजनाबाट अनुदान रकम प्रवाह भएको जानकारी दिए। जसमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, रानी जमरा गुलरिया सिँचाई आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइ, कृषि क्षेत्र विकास कार्यक्रम, नेपाल लाईभस्टक इनोभेसन आयोजना र (खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना रहेका छन्।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट ६ अर्ब ६१ करोड ९५ लाख ३१ हजार रुपैयाँ रकम प्रवाह भएको छ। उक्त रकम १ लाख ४१ हजार ६ सय ७० कृषि सहकारी, कृषि समूह तथा कृषि फर्महरूले लगेको कृषि मन्त्री अधिकारीले जानकारी दिए। 

रानी जमरा गुलरिया सिँचाई आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइ बाट १८ करोड ४८ लाख ६१ हजार रुपैयाँ प्रवाह भएको छ भने त्यसबाट २१ हजार ४ सय ५० कृषि सहकारी, समूह, फर्महरूले रकम लगेका छन्।

त्यस्तै, कृषि क्षेत्र विकास कार्यक्रमबाट ८० करोड १९ लाख ६१ करोड रुपैयाँ रकम प्रवाह भएको छ भने त्यस कार्यक्रममार्फत २७ हजार ६ सय ५० कृषि सहकारी, कृषि समूह तथा कृषि फर्महरूले रकम लगेका छन्।

नेपाल लाईभस्टक इनोभेसन आयोजनाबाट १ अर्ब ९२ करोड ७५ लाख १३ हजार रुपैयाँ प्रवाह भएको छ। त्यसबाट ११ हजार १ सय ५० कृषि सहकारी, कृषि समूह तथा कृषि फर्महरूलाई  रकम वितरण भएको मन्त्रालयले जनाएको छ।

खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनाबाट १ अर्ब ५ करोड ३७ लाख ७९ हजार रुपैयाँ प्रवाह भएको छ। ४६ हजार २ सय २६ कृषि सहकारी, कृषि समूह तथा कृषि फर्महरूले रकम वितरण भएका छन्।

उखु कृषक प्रोत्साहन अनुदानमार्फत ४ अर्ब ७ करोड २४ लाख २० हजार रुपैयाँ यसबिचमा वितरण भएको मन्त्री अधिकारीले जानकारी दिए। त्यस्तै, कृषि बीमाको प्रिमियम अनुदान तर्फ ५० करोड ४८ लाख ८२ हजार रुपैयाँ , पशुपन्छी तथा मत्स्य बिमाको प्रिमियम अनुदान तर्फ ५ अर्ब १३ करोड ८० लाख ६६ हजार रुपैयाँ प्रवाह भएको उनले आइतबार सार्वजनिक गरे।

यस अवधिमा प्रत्यक्ष र अप्रत्यक्ष गरी दुई प्रकारका अनुदान प्रवाह भएको देखिन्छ। जसमा जम्मा १ खर्ब ७ अर्ब ६६ करोड २७ लाख ८९ हजार रुपैयाँ रहेको छ। त्यसमध्ये प्रत्यक्षतर्फ यस मन्त्रालय अन्तर्गत सञ्चालित स्वदेशी तथा विदेशी लगानीमा सञ्चालित परियोजनामार्फत कृषि सहकारी,  कृषि समूह तथा कृषि फर्मलाई वितरण गरिएको अनुदान १० अर्ब ५८ करोड ७६ लाख ४६ हजार रुपैयाँ रहेको छ।

त्यस्तै प्याक्ट परियोजनाबाट १२ सय २३ कृषि सहकारी, कृषि समूह तथा कृषि फर्महरू मार्फत २ अर्ब १० करोड २६ लाख रुपैयाँ अनुदान प्रवाह भएको  पनि मन्त्रालयले जनाएको छ।  विगतमा फेज आउट भएका परियोजना मार्फत पनि अनुदान रकम प्रवाह भएका छन् सो को विवरण भने चाडै सार्वजनिक गरिने कृषि मन्त्री अधिकारीले प्रतिबद्धता जनाए। 

पुष २८, २०८१ आइतबार १५:१०:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।