हिन्दु र बौद्धमार्गीको धार्मिक गन्तव्य शाश्वतधाममा ५० लाख दर्शनार्थी
नवलपुर : नवलपुरस्थित शाश्वतधाममा ५० लाख दर्शनार्थीले भ्रमण गरेको ऐतिहासिक क्षणको उपलक्ष्यमा विशेष कार्यक्रम आयोजना गरिएको छ। शनिबार शाश्वतधाम परिसरमा धार्मिक र सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुका साथै दर्शनार्थीका लागि स्वस्ति वाचन तथा भजन-कीर्तनले स्वागत गरिएको थियो।
सन् २०१७ मा उद्घाटन गरिएको शाश्वतधाममा शनिबारसम्म दर्शन गर्नेको संख्या ५० लाख पुगेको हो। त्यस अवसरमा मनाइएको उत्सवमा काठमाडौं उपत्यकामा लोकप्रिय महाकाली नृत्य र नागाचा नृत्यलाई पहिलोपटक उपत्यकाबाहिर प्रस्तुत गरिएको हो। त्यसैगरी थारू, मगर, लामा–गुरुङ, ब्राह्मण जातिका मौलिक नृत्य र सांस्कृतिक झाँकी समेत प्रदर्शन गरिएको थियो।
स्थानीय मौलिक संस्कृति, भेषभूषा, रहनसहन र बाजागाजालाई समेटेर प्रस्तुत गरिएको कार्यक्रमले सनातन धर्मप्रतिको श्रद्धा, आस्था र विश्वास जागरण गर्न तथा धार्मिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने लक्ष्य राखेको शाश्वतधाम परिवारले जनाएको छ।
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी र आर्ट अफलिभिंगका संस्थापक रविशंकरद्वारा संयुक्त रुपमा समुद्घाटन गरिएको शाश्वतधाम पछिल्लो समय नेपालको एक महत्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्यका रुपमा विकसित भएको छ। कलात्मक मन्दिर, गुरूकुलीय विद्यापीठ, बौद्ध चैत्य–गुम्बा, संग्रहालय र शाकाहारी भोजनालय जस्ता स्थलहरू रहेका छन्।
शाश्वतधाम धार्मिक पर्यटक मात्र नभई शैक्षिक भ्रमणका लागि पनि उपयुक्त गन्तव्य मानिन्छ। यहाँका आकर्षक भित्ते चित्र, पानीका फोहोरा, हरियाली र सजिला पदमार्गहरूले भ्रमणकर्तालाई आकर्षण थपेका छन्।
शाश्वतधाम : एक मन्दिर, अनेक महत्व
शाश्वतधाम हिन्दु र बौद्ध धर्मको उत्कृष्ट स्थल हो, जहाँ एकै ठाउँमा हिन्दूको आस्थाको केन्द्र मन्दिरका साथै बाद्धमार्गीका लागि चैत्य स्थापित छ। नवलपुरको देवचुली नगरपालिका वडा नम्बर-२, दुम्कौलीमा रहेको शाश्वतधाम धार्मिक, सांस्कृतिक, पर्यटकीय र पर्यावरणीय हिसाबले पनि निकै महत्वपूर्ण छ। यहाँ हरेक वर्ष वैशाख पूर्णिमाका दिन विशेष पूजाआजा गरिन्छ।
उद्यमी तथा राजनीतिज्ञ विनोद चौधरीले शाश्वतधाम निर्माण गरेका हुन्।
'सनातन धर्मका अनुयायी एवं धार्मिक पर्यटकहरूको आस्थाको केन्द्रका रुपमा शाश्वतधाम स्थापित भएको छ, शाश्वतधामका संस्थापक चौधरीले भने, शाश्वतधामलाई दक्षिण एसियामा सनातन धर्मको केन्द्रको रुपमा विकास गर्न ५०औं लाख महानुभावका भावनालाई समेट्दै हामी अगाडि बढ्ने छौं।'
पुष २८, २०८१ आइतबार १२:०२:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।