नेपाल-भारत संयुक्त व्यापार मञ्चको दोस्रो बैठक सम्पन्न, व्यापार र लगानी सहजीकरणका विषय हस्तान्तरण
काठमाडौं : नेपाल-भारत संयुक्त व्यापार मञ्च (जेबीएफ) को दोस्रो बैठक सम्पन्न भएको छ। दुई देशबीचको आर्थिक र व्यावसायिक सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले भएको काठमाडौंमा सम्पन्न बैठकमा नेपाल र भारतका प्रतिनिधिहरू सहभागी थिए।
बैठकमा सहभागीहरूलाई स्वागत गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल र भारत बीच आर्थिक क्षेत्रमा अथाह सम्भावना रहेको भन्दै दुवै क्षेत्रमा देखिएका समस्या समाधानका लागि नीतिगत सुधार तथा व्यवहारिक समाधान खोजेर अघि बढ्नु पर्ने बताए।
उनले गैर भन्सार अवरोध हटाउने, नेपाली वस्तु निर्यातमा ब्यूरो अफ इन्डियन स्ट्यान्डड्र्स (बिआइएस) को प्रमाणीकरण प्रक्रियाले गर्दा देखिएको समस्या समाधानको लागि सहजीकरण गर्ने, भैरहवा र पोखरा विमानस्थलसँग भारतका शहर जोड्ने र नेपालका जलविद्युत तथा अन्य निमार्णजन्य विकासको लागि आवश्यक विस्फोटक पदार्थहरू सहज आपूर्ति आवश्यक भएको बताए।
उनले मुन्द्रा (गुजरात), धामरा (ओडिशा) र जवाहरलाल नेहरू (मुम्बई) लगायतका भारतीय बन्दरगाहहरूमा नेपालको पहुँच विस्तारको विषयहरू उठाए।
संयुक्त बैठकमा जलविद्युत र नवीकरणीय ऊर्जा, सौर्य, वायु लगायतका परियोजनामा सहकार्य गर्दै स्वच्छ ऊर्जा प्रवर्द्धन, पर्यटन र कनेक्टिभिटी, सडक, रेल र हवाई सम्पर्क सुदृढ गर्दै सीमापार व्यापार सहज बनाउने, व्यापार र सीमापार लगानी, कृषि र औषधीय वनस्पति, कृषि उत्पादनको कोटा हटाई उच्च बीउ तथा प्रविधि उपलब्ध गराउने, औषधीय वनस्पतिहरूमा अनुसन्धान र व्यावसायिकरणको सहकार्य, डिजिटल प्रविधि र स्टार्टअप सहयोग लगायतका विषयहरूमा छलफल गरि सहजीकरण गर्ने सहमति भएको छ।
सहमतिका विषयलाई नेपाल र भारतका वाणिज्य सचिवलाई हस्तान्तरण गरिएको छ। भारतीय वाणिज्य सचिव सुनिल वर्थवाल र नेपालका वाणिज्य सचिव गोविन्द वहादुर कार्कीलाई मञ्चका अध्यक्ष भवानी राणा र सन्थिल कुमारले हस्तान्तरण गरेका हुन्।
मञ्चको बैठकपछि आयोजित (जेबिएफ) सदस्य तथा दुवै देशका सरकारी निकायबीचको अन्तरक्रिया कार्यक्रममा बोल्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी भारत नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार रहेको उल्लेख गर्दै जेबिएफको मिटिङमा भएका सहमतिलाई दुवै पक्षले कार्यान्वयनमा लैजानु पर्ने बताए।
भारतका वाणिज्य सचिव सुनिल बर्थवालले जेबिएफमा उठेका एजेन्डा कार्यान्वयनका लागि आफ्नो पक्षबाट पहल गर्ने प्रतिबद्धता जनाए।
उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले जेबिएफ बैठकमा भएका सहमति कार्यान्वयनको लागि दुवै पक्षले पहल गर्नु पर्ने बताए।
नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले दुई देशबीचको आर्थिक मुद्धाहरुमा यो बैठक महत्वपूर्ण रहेका बताउँदै यहाँ उठेका विषयहरूमा सहजीकरणको लागि आफ्नो तर्फबाट पहल गर्ने बताए।
मञ्चको अर्को बैठक भारतको नयाँ दिल्लीमा आयोजना गरिने सहमति भएको छ।
पुष २८, २०८१ आइतबार ११:१९:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।