पछिल्लो हप्ता दिन सरकार हैन, एमालेको काममै व्यस्त भए प्रधानमन्त्री ओली
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बितेको एक हप्तामा उद्घाटन, भाषण र एक अर्कालाई व्यंग्य गर्नैमै बिताएका छन्।
यही पुस १४ मा प्रधानमन्त्री ओली एमाले पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सहभागी भए। उक्त कार्यक्रममा ओलीले एमाले एउटा नदी हो, यसमा सबै खोला मिसिन्छिन् भन्दै एमालेको तारिफ गर्न भ्याए। उनले पार्टी प्रवेश गर्नेहरूलाई स्वागतसँगै पार्टीमा आउने छनोट सही भएको बताए।
‘एमाले एउटा नदी हो, यसमा सबै खोला मिसिन्छिन्। मौरीको सङ्गत लागेर मौरीको पछिपछि लागेमा फूलबारीमा पुगिन्छ। झिँगाको सङ्गत गरेर उसको पछिपछि लागेमा फोहोरको डङ्गुरमा पुगिन्छ’, प्रधानमन्त्री ओलीले भने।
ओली सोही दिन नै पर्सा पुगे। जहाँ उनले अब जनताको जीवनमा परिवर्तन ल्याउने क्रान्ति आवश्यक छ भन्दै खरो भाषण गरेर फर्किए।
‘हामी क्रान्तिकारी हौं। क्रान्तिमा लाग्नु भनेको तोडफोड र जुलुस गर्नु होइन, अब जीवनमा परिवर्तन ल्याउने क्रान्ति गर्न आवश्यक छ। मधेसका मसिया भन्ने पार्टीका नेताहरूले विकास निर्माणमा नभइ संविधानका धाराको राजनीतिमा जनतालाई अल्मल्याउने काम गरे। हामी त्यस्तो गर्दैनौँ’, प्रधानमन्त्री ओलीले भने, ‘देश बनाउने पार्टी एमाले नै हो र एमाले मात्रै हो।’
त्यसको भोलिपल्ट ओली लुम्बिनी बौद्ध विश्वविद्यालय र चीनको बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयबीच सहकार्य सम्झौता कार्यक्रममा सहभागी भए।
त्यहाँ उनले नेपाल र चीनबीच शताब्दीऔँदेखि जनस्तरमा समेत सम्बन्ध रहेको उल्लेख गर्दै दुई देशबीच प्राज्ञिक र शैक्षिक सम्बन्ध र सहकार्य विस्तार भएकामा खुसी व्यक्त गरे।
ओली पुस १९ मा जनप्रतिनिधिहरूको सम्मान ‘शी लिड्स आइकन’ कार्यक्रममा सहभागी भए। जहाँ उनले महिला जनप्रतिनिधिको सक्रियताले स्थानीय तहको औचित्य स्थापित भएको बताए।
‘व्यवस्थामा परिवर्तन भयो, अवस्थामा परिवर्तन भएन भन्ने गलत भाष्य चिर्न महिला जनप्रतिनिधिहरूको उपस्थिति र सक्रियता नै काफी छ। महिला जागे भने समाज परिवर्तन हुन्छ भन्ने स्थापित भएको छ’, प्रधानमन्त्री ओलीले भने।
सोही दिन ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरे। उनले करिब दुई घण्टा भएको भेटमा एमालेको पछिल्लो राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल गरे।
यसैगरी पुस २१ मा ओलीले एमाले केन्द्रीय समिति बैठक डाके। जहाँ ओलीले ४७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरे।
उक्त बैठकमै ओलीले देशभक्त र प्रगतिशील मजबुत भएकाले प्रतिक्रियावादी शक्तिहरू आतङ्कित भएका छन् भन्दै कटाक्ष गरे। जसमा उनले प्रतिक्रियावादी शक्तिहरू निर्दयी र अमानवीयरुपमा एमालेविरुद्ध झुठा प्रचारमा लागेको टिप्पणी गरे।
‘हामी विरोधीका आरोपमाथि चुप लागेर बस्नु हुँदैन। चुप लागेर बस्नुपर्छ भन्ने कमजोर धारणा हो। विरोधीका आरोपबारे तथ्यका आधारमा खण्डन गर्नुपर्छ। हाम्रा सबै सङ्गठनहरू उत्साहित भएर व्यक्ति व्यक्ति र घर घरमा पुग्नुपर्छ। वैचारिक कामलाई उत्तिकै महत्व दिनुपर्छ’, अध्यक्ष ओलीले भने, ‘लोकतन्त्रका नाममा पार्टीभित्र गुटबन्दी गरेर भाँडभैलो मच्याउने कार्यले पार्टीलाई बलियो बनाउँदैन।’
यसैगरी पुस २३ मा ओलीले साफ महिला फुटबल, एसियाली कराँते र कावाबीच भलिबल खेलमा पदक विजेता खेलाडीहरूलाई पुरस्कार प्रदान गरे।
त्यसको भोलिपल्ट ओलीले प्रधानमन्त्री निवास, बालुवाटारमा नेपाल निर्माण उद्योग परिषद्का कर्मचारीहरूसँग भेटवार्ता गरे।
यसैगरी पुस २५ मा ओली अनेरास्ववियुले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका सन्दर्भमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न पुगे। जहाँ उनले एमालेमा बार्गेनिङ चल्दैन भन्दै भाषण गरेर निस्के।
‘हामी आफ्नो पार्टी विस्तार गर्छौ। कोही आउँछ भने मिल्न आउँदा हुन्छ। मर्ज गर्न आए हुन्छ। तर एकताका नाममा बार्गेनिङ चल्दैन,’ उनले भनेका थिए।
यसैगरी पुस २६ मा ओली नेपाल हस्तकला महासंघको ४४औं वार्षिक साधारणसभाको उद्घाटन समारोहमा पुगे। उनले उक्त कार्यक्रममा हस्तकला क्षेत्र सरकारको संधैं प्राथमिकतामा रहने भन्दै आश्वासन दिए।
पुष २७, २०८१ शनिबार २०:४७:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।