बलिउड र हलिउडले पनि कम स्थान पाउने चीनमा नेपाली चलचित्रको बजार कति सम्भव?
काठमाडौं : सन् २०२४ को तथ्यांकलाई हेर्ने हो भने चीनमा ८६ हजार पर्दा (थिएटर स्क्रिन) छन्। चिनियाँ चलचित्रकर्मीको भनाइलाई आधार मान्ने हो भने चलचित्रका लागि विश्वकै ठुलो बजार चीन हो। त्यहाँ एक वर्षमा विदेशी चलचित्र प्रदर्शन हुन पाउनेको संख्या ३४ रहेको छ।
भारतकै सर्वाधिक व्यापार गर्ने चलचित्र ‘दंगल’ पनि चीनमा प्रदर्शन भएकै कारण इतिहास रच्न सफल भएको थियो। भारतीय मात्र नभई अमेरिकन (हलिउड) चलचित्र पनि न्यून मात्रामा चीनमा प्रदर्शन हुने गरेका छन्। नेपाली चलचित्र प्रदर्शन गर्न सकिने अवस्था छ त?
नेपालमा पहिलोपटक पुस २५ मा चाइना फिल्म एडमिनिस्ट्रेसन, यहाँस्थित चिनियाँ दूतावास, चाइना फिल्म आर्काइभ र नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानद्वारा संयुक्त रूपमा आयोजित एकदिवसीय ‘चीन चलचित्र दिवस’ सहभागी हुन आएका वितरक कम्पनी टाइगर पिक्चर्स इन्टरटेनमेन्टका उपप्रमुख (भाइस प्रेसिडेन्ट) ओवेन यङले पछिल्ला केही वर्षमा नेपाली चलचित्रले राम्रो गरिरहेको आफूले थाहा पाएको बताए।
उनले भने, 'मैले हङकङ र अमेरिकाको बजारमा नेपाली चलचित्रको बारेमा सुनेको छु। विशेषतः द्वन्द्व प्रधान र सामाजिक ‘ड्रामा’ भएका चलचित्रमा स्तरीयता थपिएको मैले महसुस गरेँ। यस कारण नेपाली चलचित्रको भविष्य निकै राम्रो छ भन्ने मैले महसुस गरेको छु। यस्तै महोत्सवमार्फत हामीले कला र संस्कृतिसँगै एक आपसमा चलचित्र बजार खोज्न सक्छौँ। नेपालीका लागि चीनको बजार नयाँ छ भने हाम्रो लागि नेपालको बजार पनि नयाँ नै छ।'
उनले चीनका दर्शकले रोमान्टिक, एक्सन र थ्रिलर विधाका चलचित्र रुचाउने जानकारी दिए। विशेषतः आउँदो मार्च महिनामा हङकङ र चीनकै बेइजिङमा हुने चलचित्र महोत्सवमा सहभागी भएर नेपाली चलचित्रको प्रचार गर्नुका साथै स्थानीय वितरक र प्रदर्शकसँग भेटघाट गर्न सकिने उनले बताए।
'चीनमा प्रदर्शन भएका विदेशी चलचित्रले राम्रो फाइदा लिएका छन्। यसकारण नेपाली चलचित्रकर्मी त्यहाँ पुगेर स्थानीय वितरकसँग सहकार्य गर्न सकेमा नयाँ सम्भावनालाई नकार्न सकिँदैन। विशेषतः चलचित्रको छायांकन अगावै त्यहाँ पुगेर स्थानीयलाई भेट्नु उपयुक्त हुन्छ। किनकि स्थानीयको सहभागिताले प्रदर्शनमा सहजता दिनेछ', उनले भने।
वितरक यङले निकट भविष्यमा नेपाली चलचित्रकर्मीसँग सहकार्य हुने विश्वास व्यक्त गरे। चाइना चलचित्र प्रशासन (फिल्म एडमिनिस्ट्रेसन) का अन्तर्राष्ट्रिय विभाग निर्देशक सु याङले गत वर्ष (सन् २०२४) मा नेपालमा ‘पूर्ण बहादुरको सारंगी’ र ‘१२ गाउँ’जस्ता चलचित्र सफल भएकाले चीनको बजारतर्फ प्रयास गर्न नेपाली चलचित्रकर्मीलाई आग्रह गरे।
उनले भने, 'हाम्रो चिनियाँ चलचित्र उद्योग सबैका लागि खुला छ, हामी सबैलाई अवसर दिने गरेका छौँ। यस्ता महोत्सवले हाम्रो दुई देशको चलचित्रलाई आदानप्रदान गर्ने विश्वास लिएको छु। नेपाली चलचित्रकर्मीले प्रयास गर्नुभएमा चीन पनि नेपाली चलचित्रका लागि बजार बन्न सक्नेछ। यसका लागि दुई देशबीच यस्तै महोत्सव हुनु आवश्यक छ।'
उनले चिनियाँ चलचित्र नेपालमा छायांकनका लागि आउने र नेपालको सुन्दरतालाई विश्वभर पुर्याउने गरेको बताए। उनले चिनियाँ चलचित्रले नेपालको पर्यटन प्रवर्द्धनमा भूमिका निर्वाह गर्दै आएकोमा जोड दिए।
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष तथा चलचित्र निर्देशक केपी पाठकले नेपाली चलचित्रकर्मीका लागि चीनमा बजार खोज्ने सम्भावनालाई गति दिने काम ‘चीन चलचित्र दिवस’ले गरेकोमा जोड दिए।
उनले भने, 'चीनका चलचित्र यहाँ प्रदर्शन भएका थिएनन्, यस किसिमको कार्यक्रम पहिलोपटक भएको छ। यसले दुई देशबीच सामीप्यता बढाउने मात्र नभई चलचित्र आदानप्रदानका लागि संवाद गर्ने अवस्था सिर्जना गरेको छ। हामीले त्यहाँ केही चलचित्रलाई पुर्याउन सकेमा हाम्रो चलचित्र उद्योग नयाँ युगमा प्रवेश गर्नेछ। नेपाल र चीनबीच सहकार्यको समृद्ध इतिहास छ।'
एक दिवसीय ‘चीन चलचित्र दिवस’का लागि प्रसिद्ध अभिनेत्री यु हङ, चाइना फिल्म एडमिनिस्ट्रेसनका बजार विभागका उपनिर्देशक झेङ झेङ, निर्देशक जिङ जिआओ, पटकथा लेखक लु वेई, निर्देशक झाङ गुदोङ, निर्देशक झाङ युडीसहित १४ चिनियाँ चलचित्रकर्मी नेपाल आएका थिए।
पुष २७, २०८१ शनिबार २०:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।