प्रधानमन्त्री ओलीको आग्रह 'पृथ्वीजयन्ती राप्रपाले मात्रै हैन, सरकार र अन्य दलले पनि मनाउनुपर्छ'
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली पृथ्वीनारायण शाहको ३०३औं जन्मजयन्तीका अवसरमा शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रममा सहभागी भएका छन्।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरूले स्वागत गरेका थिए।
उक्त चियापान कार्यक्रममा राप्रपाका अध्यक्ष लिङदेनले पृथ्वी जयन्तीलाई राप्रपाको मात्र कार्यक्रम जस्तो बन्न नदिन अन्य दल र सरकारलाई पनि यस प्रकारको कार्यक्रमको आयोजना गर्न आग्रह गरेका छन्।
उनले भने, ‘राप्रपाले देशभर नै यस्तो चियापान कार्यक्रमहरू आयोजना गरेको छ। पृथ्वी जयन्तीलाई राप्रपाको मात्र कार्यक्रम जस्तो बन्न नदिन अन्य दलहरूले पनि आगामी वर्षबाट यस्ता कार्यक्रम गर्नुस् र सरकारले पनि यस प्रकारको कार्यक्रमको आयोजना गरोस् भन्न चाहन्छु।’
त्यसैगरी एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पृथ्वीनारायण शाहले नेपाल निर्माणको लागि ठूलो र ऐतिहासिक भूमिका निर्वाह गरेका भन्दै उनको प्रशंसा सबैले गर्नुपर्ने बताए।
चियापान समारोहमा प्रधानमन्त्री ओलीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, सभामुख देवराज घिमिरे, गृहमन्त्री रमेश लेखक,परराष्ट्रमन्त्री आरजु राणा, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, रास्वपाका कार्यवाहक सभापति डिपी अर्याल महामन्त्री कविन्द्र बुर्लाकोटी, सांसदहरू रामहरि खतिवडा, अमरेश सिंह, भीम रावल, मुकुल ढकाललगायतको सहभागिता थियो।
पुष २७, २०८१ शनिबार १९:५०:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।