डा. मदनको उपचार अनुभव : मस्तिष्क घात भएर मुढोजस्तै भएका ७५ वर्षीय बाजे चामत्कारिक रूपमा बाँचेर ठमठम हिँडेपछि...
डा. मदन ज्ञवाली इन्टरनल मेडिसिन विशेषज्ञ हुन्। आफूले उपचार गरेका अधिकांश बिरामी ठिक भएपनि कहिलेकाहीँ सोचेको जस्तो नहुने गरेको उनको अनुभव छ। कतिपय बिरामीलाई उपचार गरेपनि ठिक बनाउन सम्भव हुँदैन। त्यस्तो बेला उनलाई दुःख लाग्छ नै। कतिपय अवस्थामा बचाउन मुस्किल पर्छ की भन्ने सोचिएका बिरामी पनि औषधि उपचारपछि ठिक भएर घर फर्कन्छन्। त्यो बेला उनलाई आनन्द लाग्छ। डा. मदनले चिकित्सकीय पेशाका शिलशिलामा देखे भोगेका यस्तै अनुभव उकेरासँग साटेका छन्।
000
मुढोजस्तै भएका बाजे बाँचेर हिँडेपछि...
बिरामीको उपचार गरेकोमध्ये एउटा प्रसंग डा. मदन कहिल्यै भुल्दैनन्। प्रसंग करिब ६ वर्षअघिको हो। जतिबेला उनी त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गतको महाराजगञ्ज चिकित्सा क्याम्पस (शिक्षण अस्पताल)मा तेस्रो वर्षमा एमडी अध्ययन गरिरहेका थिए। करिब ७५ वर्षका बाजेलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुर्याइयो। ती बाजेलाई एकातर्फको भागको मस्तिष्क घात भएछ। जसले गर्दा एकापट्टीको हात-खुट्टा नै प्यारालाइसिस भएर चलेका थिएनन्। बाजेलाई दमको समस्या पनि थियो।
अस्पतालमा बाजेको औषधि उपचार भइरहेकै थियो। दुर्भाग्यवश, उपचारकै क्रममा ती बाजेको फेरि अर्कातर्फको भाग पनि मस्तिष्क घात भयो। जसले गर्दा अर्कोपट्टीको भागको पनि हात-खुट्टा चल्न छाडे। दुई पटक मस्तिष्क घात भएर बाजेको अब भने चारवटै हात-खुट्टा चल्न छोडे। बाजे हल न चल भए। उनको अवस्था पिडादायक भयो। कहिलेकहीँ यस्तो समस्या हुनसक्ने डा. मदनले सुनाए। अब ती बाजेको स्वास्थ्य सुधार नहुने हो की भनेर चिकित्सकहरूलाई पनि चिन्ता लाग्यो।
अस्पतालमा बाजेको निरन्तर उपचार भइनैरह्यो। बाजेलाई फिजियो थेरापी लगायत आवश्यक औषधि उपचार गरियो। सिनियर चिकित्सकको टिमसँगै डा. मदन पनि ती बाजेको उपचारमा खटिएका थिए। बाजेको उपचारमा चिकित्सकको टिमले अथक मेहनत गर्यो। धन्य, नियमित औषधि उपचारपछि भने ती बाजेको होस खुल्यो। उनी बोल्न थाले। बिस्तारै उनका हात खुट्टा चल्दै जान थाले। बाजेको ज्यान बाँच्यो। करिब दुई हप्ताको औषधि उपचारपछि त बाजेलाई अस्पतालबाट डिस्चार्ज नै गरियो।
त्यसपछि पनि बाजेलाई फिजियो थेरापी लगायतका औषधि उपचार गर्न चिकित्सकले सल्लाह दिएका थिए। त्यही अनुसार बाजेको औषधि उपचार भयो पनि। अस्पतालबाट डिस्चार्ज भएको एक महिनापछि बाजेलाई अस्पतालमा फलोअपका लागि बोलाइएको थियो। चिकित्सकको सल्लाह अनुसार बाजे फलोअपमा अस्पताल पुगे।
तर, फलोअपमा अस्पताल पुग्दा बाजेलाई बोक्नु परेको थिएन। बाजे लट्ठी टेक्दै ठमठम हिँडेर आफन्तसँग फलोअपमा अस्पताल पुगे। त्यसपछि उनको स्वास्थ्य अवस्था हेरियो। आवश्यक औषधि दिइयो। र, घरायसी रुपमा गर्नुपर्ने थेरापीको लागि सुझाव पनि दिइयो। यसरी हात-खुट्टा नै नचलेर मुढोजस्तो भएका बाजे ठमठम हिँडेर अस्पतालमा फलोअपमा पुगेको देख्दा डा. मदन चकित परे।
परिवारले माया मारेका ८० वर्षे बाजे बाँचेर घर फर्किएपछि...
प्रसंग केही वर्ष अघिको हो। त्यो बेला चितवनको बकुलहर रत्ननगर अस्पतालमा भर्खर आइसीयु सञ्चालनमा आएको थियो। करिब ८० वर्षका बाजेलाई उपचारका लागि त्यहाँ पुर्याइयो। ती बिरामी बाजेलाई दमको समस्या पनि थियो। निमोनिया भएको थियो। उनको शरीरमा अक्सिजनको मात्रा कम थियो। शरीरमा कार्वनडाइअक्साइडको मात्रा बढी भएर बिरामीको होस नै गुमिसकेको अवस्था थियो। बाजेलाई तुरुन्तै आइसीयु तथा भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने अवस्था थियो।
तर, आइसीयु तथा भेन्टिलेटरमा राख्दा बाजे ‘बाँच्दैनन्’ भन्ठानेछन् परिवारले। त्यसैले आइसीयुमा राखेर उपचार गर्नै मानेनन्, परिवारका सदस्य। चिकित्सकहरुले ती बाजेलाई आइसीयुमा राखेर उपचार गर्नुपर्ने कारणबारे राम्रोसँग सम्झाए। तर, जति सम्झाई बुझाई गरेपनि आइसीयु तथा भेन्टिलेटरमा राख्दा ती बाजेको मृत्यु हुनसक्ने भ्रमले बाजेलाई आइसीयुमा राख्न मानेनन् आफन्त।
बिरामीका आफन्तले नमानेपछि चिकित्सकहरू ती बाजेलाई बचाउने अन्य विधिको खोजीमा जुटे। बाजेलाई वाफ दिइयो। अन्य विभिन्न चिकित्सकीय विधि अपनाइयो। संयोगले, औषधि उपचारपछि बाजेको स्वास्थ्यमा बिस्तारै सुधार हुँदै गयो। बाजेको होस खुल्यो। बाजे बोलचाल गर्न सक्ने भए। करिब एक हप्ताको औषधि उपचारपछि बाजे चामत्कारिक रुपमा ठिक हुँदै गए। स्वास्थ्यमा सुधार भएपछि अस्पतालबाट डिस्चार्ज भएर बाजे हिँडेरै घर फर्के। त्यो सम्झँदा डा. मदनलाई अझै आनन्द लाग्छ।
अध्ययनमा अब्बल, डाक्टरी रहर
मदन २०४७ मा पाल्पाको साबिकको अर्गली गाविस वडा नम्बर-४ मा जन्मिएका हुन्। उनका बुवा सरकारी जागिरे भएकाले बुवाको विभिन्न ठाउँमा सरुवा हुन्थ्यो। त्यसैले उनको अध्ययन पनि बुवाको सरुवा जता भयो, उतै हुन्थ्यो। मदनले बुटवलको न्यून होराइजन उच्च माविबाट २०६२ मा एसएलसी गरे। एसएलसीपछि उनी काठमाडौं आए। अध्ययनमा अब्बल मदनले काठमाडौंको माइतीघरस्थित सेन्ट जेभियर्स कलेजबाट प्लसटु गरे।
मदनलाई सानैदेखि कसरी निरोगी बन्न सकिन्छ भन्ने खुल्दुली लाग्थ्यो। त्यसबेला उनी मान्छे कसरी बिरामी पर्छन् होला भन्ने सोच्थे। अनि रोग लागेपछि कसरी उपचार गर्न सकिन्छ भन्ने विषयका बारेमा पनि उनलाई खुलदुली चलिनै रहन्थ्यो। स्वास्थ्य समस्या भएका व्यक्तिको औषधि उपचार गर्ने उपायको खोजी गर्दै जाँदा मदन डाक्टरी विषय नै अध्ययन गर्ने निर्णयमा पुगे।
उनले डाक्टरी विषयको अध्ययनका लागि तयारी गरे। निक्कै मेहनतपछि मदनले सरकारी छात्रवृत्ति कोटामा एमबीबीएस अध्ययन गर्ने मौका पाए। अनि त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गतको महाराजगञ्ज चिकित्सा क्याम्पसमा उनी २०६५ मा एमबीबीएस अध्ययनका लागि भर्ना भए। २०७२ मा मदनको एमबीबीएस अध्ययन पूरा भयो।
एमबीबीएस अध्ययनपछि डा. मदन छात्रवृत्तिमा काम गरेवापत छात्रवृत्ति करारमा काम गर्नका लागि पाल्पाको रामपुर अस्पताल पुगे। त्यहाँ उनले करिब एक वर्ष काम गरे। त्यसपछि उनी काठमाडौं फर्किए। अनि भक्तपुर अस्पतालमा काम गरे।
भक्तपुर अस्पतालमा काम गर्दागर्दै डा. मदन लोकसेवा परीक्षामार्फत २०७३ मा आठौं तहको सरकारी स्थायी चिकित्सकका रुपमा जागिरे भए। सरकारी जागिरे भएपछि डा. मदन पोष्टिङ भएर स्याङ्जाको पञ्चमुल प्राथमिक स्वास्थ्य केन्द्रमा गए। त्यहाँ उनले स्वास्थ्य केन्द्र प्रमुखको जिम्मेवारीमा रहेर करिब दुई वर्ष काम गरे।
डा. मदनलाई थप अध्ययन गर्नु त छँदैथियो। त्यसैले स्याङ्जापछि उनले महाराजगञ्ज चिकित्सा क्याम्पसमै २०७६ मा एमडी अध्ययनका लागि भर्ना भए। एमडीमा उनको छनोटमा इन्टरनल मेडिसिन पर्यो। महाराजगञ्ज चिकित्सा क्याम्पसमा उनले इन्टरनल मेडिसिन विषयमा चिकित्सा शास्त्रको स्नातकोत्तर तहको एमडी अध्ययन गर्न थाले। सबैजसो स्वास्थ्य समस्या भएका बिरामीको समस्याको कारण खोजेर उपचार प्रक्रिया अपनाउन सकिने भएकाले इन्टरनल मेडिसिन विषय छनोट गरेको उनले सुनाए। यो विषयलाई उपचार गर्ने फराकिलो दायरा भएको विषयका रुपमा लिन्छन्, उनी।
२०७९ मा उनको एमडी अध्ययन पूरा भयो। डा. मदनले एमडी पनि सरकारी छात्रवृत्ति कोटामै अध्ययन गरेका हुन्। त्यही बीचमा कर्मचारी समायोजन भयो। २०७९ मा डा. मदन प्रदेश अन्तर्गत (बागमती प्रदेशमा) समायोजन भए। त्यही क्रममा उनी चितवनको बकुलहर रत्ननगर अस्पतालमा पुगे। दुई वर्षअघि लोकसेवा परीक्षामार्फत उनी मेडिकल सुपरिटेन्डेन्ट भए। त्यसपछि पनि बकुलहरमै उनको पदस्थापन भयो। दुई वर्ष अघिबाट उनी बकुलहर अस्पताल प्रमुख (मेडिकल सुपरिटेन्डेन्ट)को जिम्मेवारीमा छन्।
पुष २७, २०८१ शनिबार १८:५७:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।