पृथ्वीजयन्ती : राप्रपाको चियापानमा प्रधानमन्त्री ओली र देउवा जाँदा प्रचण्ड गएनन्
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली पृथ्वीनारायण शाहको ३०३औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रममा सहभागी भएका छन्।
प्रधानमन्त्री तथा एमालेका अध्यक्ष ओलीलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरूले स्वागत गरेका थिए।
चियापान समारोहमा प्रधानमन्त्री ओलीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, सभामुख देवराज घिमिरे, गृहमन्त्री रमेश लेखक,परराष्ट्रमन्त्री आरजु राणा, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, रास्वपाका कार्यवाहक सभापति डिपी अर्याल महामन्त्री कविन्द्र बुर्लाकोटी, सांसदहरू रामहरि खतिवडा, अमरेश सिंह, भीम रावल, मुकुल ढकाललगायतको सहभागिता थियो।
तर, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने त्यस समारोहमा उपस्थित थिएनन्। पृथ्वीजयन्तीअघि आयोजक राप्रपाले भने सबै दलका नेताहरूलाई उपस्थितिको निम्तो दिएको थियो।
सहभागीहरूले पृथ्वीनारायण शाहको फोटोमा माल्यार्पण गर्दै जलपान कार्यक्रममा सहभागी भएका छन्। प्रधानमन्त्री ओलीले पनि पृथ्वीनारायण शाहको फोटोमा माल्यार्पण गरे।
पुष २७, २०८१ शनिबार १७:३२:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।