जय ट्रफीमा श्रवण यादवको पहिलो ओभरमै ह्याट्रिक; प्रतिक, सूर्य र सन्दीप आउट

जय ट्रफीमा श्रवण यादवको पहिलो ओभरमै ह्याट्रिक; प्रतिक, सूर्य र सन्दीप आउट

काठमाडौं : जय ट्रफी एलिट कप दुई दिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबका श्रवण यादवले ह्याट्रिक विकेट लिएका छन्।

प्रतियोगितामा ह्याट्रिक बनाउने श्रवण पहिलो खेलाडी भएको क्यानका कमेन्टेटरहरूले जनाएका छन्।

जनकपुरको रामजानकी क्रिकेट मैदानमा लिगको आफ्नो अन्तिम खेलमा बागमती प्रदेशविरुद्धको खेलमा नेपाल पुलिस क्लबका यादवले तीन विकेट लिएका हुन्।

२७औं ओभरमा व्यक्तिगत पहिलो ओभर बलिङ गर्न आएका उनले चौथो, पाँचौं र छैटौं बलमा क्रमशः प्रतिक क्षेष्ठ, सूर्य तामाङ र सन्दीप लामिछानेको विकेट लिए।

श्रेष्ठ र तामाङलाई बोल्डआउट गरेका यादवले लामिछानेलाई शंकर रानाको हातबाट क्याचआउट गराए।

योसँगै २९ औं ओभरको खेल सकिँदा बागमती प्रदेश आठ विकेट गुमाएर ९९ रन बनाएर खेलिरहेको छ।

उसका लागि इसान पाण्डेले अर्धशतक बनाए। उनी अहिले पनि क्रिजमै छन्।

पुष २७, २०८१ शनिबार ११:३१:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।