माघीको बजार, तरुलको व्यापार (फोटो कथा)

माघीको बजार, तरुलको व्यापार (फोटो कथा)

काठमाडौं : माघे सङ्क्रान्ति संघारमै छ। ज्योतिष शास्त्र अनुसार सौर्यमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर सङ्क्रान्ति’ पनि भनिन्छ।

मकर सङ्क्रान्तिलाई थारूहरूले आफ्नो नयाँ वर्षको रुपमा मनाउँदा अन्य भेगमा भने घ्यू-चाकु र तरुल खाएर मनाइन्छ।

अहिले सङ्क्रान्ति नजिकिदै गर्दा काठमाडौँको कालिमाटी फलफूल तथा तरकारी बजारमा अहिले तरुल व्यापारीहरूको  व्यस्तता बढेको छ।

कालिमाटीमा अहिले सर्लाही, चितवन, नवलपरासी, धादिङ, मकवानपुर, सिन्धुपाल्चोक, सिन्धुली लगायतको जिल्लाहरूबाट तरुल आइरहेको छ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार यहाँ पिँडालु, घर तरुल, वन तरुल, सिमल तरुल, हात्तीपाइले तरुल, सखरखण्ड जस्ता १५ भन्दा बढी प्रकारका तरुल पाइन्छ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार कालिमाटीमा संक्रान्तिलाई लक्षित गरी बिहीबार मात्रै ७,२५० केजी पिँडालु, २३ हजार ५५० केजी सखरखण्ड र ९६ हजार ९८० केजी तरुल भित्रिएको छ।

समितिले प्रकाशित गरेको शुक्रबारको दैनिक मूल्यसूची अनुसार प्रति केजी औसतमा सखरखण्ड ७५, पिँडालु ८५ र अन्य तरुल ७५ रुपैयाँमा कारोबार भइरहेको छ।

जाडो याममा बढी खपत हुने तरुलको माग माघे सङ्क्रान्तिमा अझ बढ्ने गर्छ।

पुष २७, २०८१ शनिबार १०:३८:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।