६० कटेकाहरूलाई ऊर्जा थप्ने चौतारी

६० कटेकाहरूलाई ऊर्जा थप्ने चौतारी

सुर्खेत : जिल्ला सरकारी वकीलको कार्यालयमा सुब्बाको जागिर खाएका वीरेन्द्रनगर नगरपालिका-७ का ६४ वर्षीय अग्नीधर अधिकारीले १० वर्षअघि अवकाश पाए। ३० वर्षे जागिरे अवधिमा आधा दर्जनभन्दा बढी कार्यालयमा बिताए उनले।

अवकाश पाए पनि उनको जीवन आजकल जागिरे जस्तै भएको छ। विहान खाना खान्छन् अनि घरबाट निस्कछन् र साँझ फर्कन्छन्। तर, जाने ठाउँ भने फेरिएको छ- ज्येष्ठ नागरिक सेवा समाज।

शनिबार र सोमबारबाहेक हप्ताको पाँच दिन उनी उक्त संस्थामा जान्छन्। दिनभर भजन, कीर्तन, कथा र रामायण वाचन र श्रवण गर्छन् अनि साँझमा घर फर्कन्छन्। आजकल उनको यो दैनिकी नै भइसक्यो। शनिबार र सोमबार भने दिन कटाउनै गाह्रो हुने रहेछ उनलाई।

दुई छोरा र श्रीमतीसहित चार जनाको परिवार छ उनको। दुवै छोरा जागिरे भएकाले उनी र श्रीमती मिना अधिकारी घरमा बस्दा एक्लो महसुुस गर्दा रहेछन् अनि दुवै जना संस्थामा आउँछन्। त्यहाँ दिनभरी बस्दा दिन कटेको पत्तै नहुने अग्नीधर बताउँछन्।

‘ऊर्जाशील समय जागिरमा बिताइयो। जागिरबाट रिटायर्ड भएपछि उमेरले पनि बुढो भइयो। छोराहरू जागिरे छन्। दिनभरी दुई बुढाबुढी मात्रै बस्दा मनमा अनेक कुरा खेल्न थाल्यो। यहाँ आएपछि दिन कटेको पत्तै हुन्न’, उनी भन्छन्।

वीरेन्द्रनगरकै ८० वर्षीय विरबहादुर विक पनि शनिबार र सोमबारबाहेक हरेक दिन जेष्ठ नागरिक सेवा समाजमै भेटिन्छन्। घरमा बस्दा समय काट्नै गाह्रो भएपछि यहाँ आउने गरेको उनी सुनाउँछन्।

उनी भन्छन्, ‘छोरा बुहारी दिनभर काममा जान्छन्। घरमा एक्लै बस्दा गाह्रो हुन्छ,’ उनले भने, ‘यहाँ आउँदा आफूजस्तै उमेरका हुन्छन्। कुरा मिल्छ। साथीभाइसँग समय बिताउँदा रमाइलो लाग्छ। साँझ आनन्दले निन्द्रा पनि पर्छ।’

अग्नीधर र विरबहादुर मात्र होइन, ज्येष्ठ नागरिक सेवा समाजमा दैनिक ४० देखि एक सय जनासम्म ज्येष्ठ नागरिक आउने गर्छन्।६० देखि ८० वर्ष उमेरका ज्येष्ठ नागरिकको भेला हुने थलो बनेको छ यो संस्था अचेल।

त्यहाँ आउने ज्येष्ठ नागरिकका लागि संस्थाले चिया, बिस्कुट र तातोपानीको समेत व्यवस्था गर्छ। त्यसका लागि एक जना कर्मचारी समेत खटाएको छ।

२०७६ सालमा स्थापना भएको जेष्ठ नागरिक सेवा समाजको भवन स्थानीय र प्रदेश सरकारले बनाइदियो। अन्य खर्चहरूको व्यवस्थापनका लागि १७ जनाले अक्षय कोषमा १५ लाख रुपैयाँ छ। त्यही रकमबाट आउने ब्याज रकमले संस्था चलिरहेको अध्यक्ष मोतिप्रसाद चपाईंले जानकारी दिए।

समाजमा एक सय ५१ जना आजीवन सदस्य छन्। आजीवन सदस्यता शुल्क २५ सय रुपैयाँ शुल्क तोकिएको छ। यसका अलावा केही दाताको इच्छाअनुसार नगद तथा खाजा सहयोग गर्छन्। संस्थालाई व्यवस्थित बनाउन ११ सदस्यीय कार्यसमिति गठन गरिएको छ।

संस्था ज्येष्ठ नागरिकहरूका लागि पीडा बिसाउने चौतारी र खुसी बाँड्ने थलो बन्दै गएको अध्यक्ष चपाईं बताउँछन्। संस्थालाई अझै व्यवस्थित बनाउन आफूहरू लागिपरेको उनको भनाइ छ।

चपाईं आफैँ पनि पहिला सरकारी जागिरे रहेछन्। अवकाशपछि परिवार र समाजमा आफ्नो स्थान गुमाउँदै गएको महसुस भएपछि यस्तो सोच पलाएको उनको अनुभव छ।

‘जागिरबाट अवकाशपछि पसल थापेर बसेँ। छोराछोरी सबै जागिरे छन्। उमेर ढल्कदै जाँदा परिवार र समाजमा आफ्नो स्थान गुमाउँदै गएको अनुभव हुँदो रहेछ,’ उनी सुनाउँछन्, ‘जेष्ठ नागरिकले जीवनको उत्तरार्द्धमा थुप्रै समस्याहरूको सामना गरिरहेका हुन्छन्। तर, यहाँ आउँदा सबै कुरा बिर्सेर सुख दुःख आदानप्रदान हुन्छ। यो समाजले ६० कटेकालाई नयाँ ऊर्जा प्रदान गरिरहेको छ।’

समाजले जेष्ठ नागरिकहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याइ उनीहरूको स्वास्थ्य र मनोरञ्जनको व्यवस्थापन गर्न, सामाजिक, सांस्कृतिक, धार्मिक गतिविधिमा सहभागी गराउन, अन्तरक्रिया र अनुभव बाँड्न महत्वपूर्ण भूमिका खेलेको अध्यक्ष चपाईंको भनाइ छ।

पुष २७, २०८१ शनिबार १०:१६:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।