तमीम इकबालद्वारा दोस्रो पटक अंतर्राष्ट्रीय क्रिकेटबाट सन्यासको घोषणा

तमीम इकबालद्वारा दोस्रो पटक अंतर्राष्ट्रीय क्रिकेटबाट सन्यासको घोषणा

एजेन्सी : बंगलादेशका पूर्व कप्तान तमिम इकबालले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। उनले सन्यास लिएको यो दोस्रो पटक हो।

यसअघि सन् २०२३ को जुलाईमा उनले पत्रकार सम्मेलन गरेर भावनात्मक रूपमा सन्यास लिएका थिए। तर, तत्कालीन प्रधानमन्त्री शेख हसिनाको आग्रहपछि २४ घण्टाभित्र आफ्नो निर्णय परिवर्तन गरेका थिए।

३५ वर्षीय ओपनिङ ब्याट्सम्यानले बंगलादेश चयनकर्तालाई पनि आफ्नो निर्णयबारे जानकारी गराएका छन्। तमिम र चयनकर्ताको भेट सिलेटमा भएको थियो।

मुख्य चयनकर्ता गाजी अशरफ हुसेन र कप्तान नजमुल हसन शान्तोलगायत केही बंगलादेशी खेलाडीले तमिम च्याम्पियन्स ट्रफीका लागि बंगलादेशको टोलीमा फर्किने कुरा गरेका थिए। तर, एक दिन सोचेर तमिमले सन्यासको निर्णयमा आफू अडिग रहेको जानकारी गराए।

फेसबुकमा यो घोषणा गर्दै तमिमले लेखेका छन्, ‘म अन्तर्राष्ट्रिय क्रिकेटबाट टाढा भएको लामो समय भइसकेको छ। मेरो अन्तर्राष्ट्रिय क्रिकेटको अध्याय समाप्त हुन लागेकोले अब यो दूरी कायमै रहनेछ। म लामो समयदेखि यसबारे सोचिरहेको थिएँ।’

‘कप्तान शान्तोले मलाई टोलीमा फर्कन भने। यसबाहेक मैले छनोट समितिसँग पनि छलफल गरेँ। म कृतज्ञ छु कि उनीहरू अझै पनि मलाई टोलीमा लिन इच्छुक छन्। तर, मैले मेरो मनको सुनेँ र अब म अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदाइ लिँदैछु।’

तमिमले सेप्टेम्बर २०२३ देखि बंगलादेशका लागि कुनै पनि अन्तर्राष्ट्रिय खेल खेलेका छैनन्। गत बंगलादेश प्रिमियर लिग (बीपीएल)मा उनी प्लेयर अफ द टुर्नामेन्ट भए भने घरेलु एनसीएल टी-२० मा राम्रो रन बनाएका थिए।

जारी बीपीएलमा पनि तमिमको ब्याटबाट रन आइरहेको छ। उनले पाँच इनिङ्समा ४० भन्दा माथिको औसत र १५० भन्दा माथिको स्ट्राइक रेटमा १६१ रन बनाएका छन्।

तमिमले बंगलादेशका लागि ७० टेष्ट खेलमा ३९ को औसतमा ५१३४ रन, २४३ एकदिवसीय खेलमा ३७ को औसतमा ८३५७ रन र ७८ टी-२० मा २४ को औसत र ११७ को स्ट्राइक रेटमा १७५८ रन बनाएका छन्।

उनको नाममा शतक सहित तीनवटै फर्म्याटमा जम्मा २५ शतक र ९४ अर्धशतक छ। उनी एकदिवसीयमा बंगलादेशको सर्वाधिक रन बनाउने , टेस्टमा दोस्रो सर्वाधिक रन बनाउने र टी२०आई मा चौथो सर्वाधिक रन बनाउने खेलाडी हुन्।

पुष २७, २०८१ शनिबार ०८:४५:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।