कास्कीबाट छुटेको पहिलो दिनमै रविले ‘शुक्रवार आफैँ अदालतमा उपस्थित हुने' सर्त उलङ्घन गरे

कास्कीबाट छुटेको पहिलो दिनमै रविले ‘शुक्रवार आफैँ अदालतमा उपस्थित हुने' सर्त उलङ्घन गरे

काठमाडौँ :शुक्रबार आफैँ जिल्ला अदालत काठमाडौँमा उपस्थित हुने सर्तमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पहिलो दिनमै सर्त उलङ्घन गरेका छन्।

जिल्ला अदालत कास्कीमा दायर भएको अभियोग पत्रमा रविसहितका प्रतिवादीहरु छुटी जाने भएमा अन्य प्रहरी कार्यालयमा समेत सहकारी ठगीमा अनुसन्धान जारी रहेको भन्दै प्रहरीमा बुझाउन उल्लेख गरिएको थियो।

अभियोग पत्रमा उल्लेख भए अनुसार अदालतमा धरौटी बुझाएपछि कास्की प्रहरीले उनलाई नियन्त्रणमा लिएर मुद्दा दर्ता भइसकेको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंमार्फत अदालतमा बुझाउनु पर्ने थियो।

तर उनले आफैँ अदालतमा हाजिर हुन इच्छा व्यक्त गरेको भन्दै पार्टी र परिवारका प्रतिनिधिलाई शुक्रवार जिल्ला अदालत काठमाडौँमा उपस्थित हुने सर्तमा बिहीबार बेलुका रिहा गर्यो।

तर उनीसहित छविलाल जोशी समेत शुक्रवार जिल्ला अदालत काठमाडौँमा उपस्थित भएनन्। सर्त पालनाका लागि हवाई मार्गबाट काठमाडौँ आउनुपर्नेमा रवि शुक्रवार पोखराबाट स्थलमार्गबाट काठमाडौँ हिँडेका थिए।

काठमाडौँ त हिँडे र काठमाडौँ आइपुगेनन्। अदालतमा उपस्थित भएको अवस्थामा थुनछेक बहस नसकिएसम्म रवि पुन काठमाडौँ प्रहरीको हिरासतमा पुग्थे।

रास्वपा नेता दीपक बोहोराले सामाजिक सञ्जाल एक्समा लेखे अनुसार ' सम्बन्धित निकायहरूसँगको सम्पर्क र समन्वयमा आइतबार बिहानै ८:३० मा काठमाडौँ जिल्ला अदालतमा हाजिर' हुने तयारी छ। 

शुक्रवार उपस्थित नभएकाले उनलाई प्रहरीले चाहेमा जहाँ छन् त्यही नियन्त्रणमा लिएर काठमाडौँ ल्याउन सक्छ। कास्की प्रहरीले वचनको विश्वासमा गरे झैँ आफैँ अदालत उपस्थित हुने सर्तमा आइतबारसम्म कुर्न पनि सक्छ। शनिवार अदालतसहित सरकारी कार्यालय बन्द हुने भएकाले अदालती प्रक्रिया आइतबार मात्रै सुरु हुन्छ।

किन भयो यस्तो ?

यसबारे केही उच्च प्रहरी अधिकारी र कानुनका जानकारहरूसँग जिज्ञासा राख्दा अभियोग पत्रमा गरिएको माग दावी अनुसार न्यायाधीशबाट प्रहरीलाई बुझाउन आदेश नआएकाले उनलाई नियन्त्रणमा राख्न नसकिएको तर्क गरे।

एक प्रहरी अधिकारीले अभियोग पत्रमा प्रतिवादी विरुद्ध अन्य मुद्दा अनुसन्धानकोक्रममा विचाराधीन रहेको अवस्थामा अदालतबाट छुटी जाने अवस्थामा प्रहरीमा बुझाउन माग गरिएको हुन्छ। रविको हकमा पनि कास्की अदालतमा दायर भएको अभियोग पत्रमा सो माग गरिएको छ।

तर न्यायाधीश नीतिज राईको इजलासबाट आदेश आउँदा धरौटीको माग भयो, धरौटी नबुझाएमा कारागार चलान गर्न भनियो तर धरौटी बुझाएमा थप अनुसन्धानका लागि प्रहरीमा बुझाउन पनि भनिएन, छाड्नु पनि भनिएन। इजलास मौन रह्यो। 

'मुद्दाको प्रक्रिया अनुसार कास्कीको थुनछेक टुंगो लागेर रिहा भएपछि काठमाडौँ प्रहरीमा बुझाउने दायित्व कास्की प्रहरीको हो। तर अभियोग पत्रको माग दावी अनुसार अदालतको आदेशमा बुझाउनु नभनेपछि प्रहरीले जबर्जस्ती गर्ने कुरा हुन्न,' ती जानकारले भने ' यस्तो अवस्थामा पुन पक्राउमा जानुपर्ने हुन्छ। काठमाडौँमा बुझाउन पुन पक्राउ गर्नुभन्दा परिवारका सदस्यले शुक्रबार आफैँ बुझाउँछु भनेकाले विश्वासमा परेर छाडेको देखिन्छ। तर जे सर्तमा रिहा भए त्यो सर्त पालना भएन।'

*प्रहरी स्रोतका अनुसार अदालतबाट अन्य जिल्लामा विचाराधीन रहेको अनुसन्धानको हकमा प्रहरीलाई बुझाउन आदेश नआएपछि कास्की प्रहरीले अदालतको स्रेस्तेदारसँग समन्वय शुरु गरेको थियो। स्रेस्तेदारले प्रारम्भमा पत्र बनाइदिने बताए। तर पछि 'आदेशमा जे छ त्यो भन्दा अन्य केही पनि नगर्न आदेश छ' भनेर अस्विकार गरेपछि परिवारको जिम्मामा छाडेको थियो।

ब्यक्तीको जमानीमा छाडेकाले रवि अदालतमा आफैँ हाजिर भएको अवस्थामा थुनछेक बहस शुरु नभएसम्म बाहिरै रहन सक्छन्। थुनछेक बहस शुरु भएको अवस्थामा भने बहस नसकिएसम्म उनी काठमाडौँ प्रहरीको हिरासतमा बस्नुपर्नेछ।

अन्य चार जिल्लामा मुद्दा अनुसन्धानमै

सुर्यदर्शन सहकारी ठगीमा अनुसन्धानका लागि रविलाई कात्तिक २ मा काठमाडौँमा पक्राउ गरेर प्रहरीले रातारात कास्की पुर्याएको थियो। बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले उनलाई ‘सहकारी ठगीमा संलग्न नरहेको भन्न सकिने अवस्था नभएको’ भन्दै  ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी धरौटी बुझाएर रिहा भएका थिए।

सुर्यदर्शनको मुद्दामा धरौटीमा छुटेका रविविरुद्ध काठमाडौंसँगै अन्य तीन जिल्लामा सहकारी ठगीकै अभियोगमा अनुसन्धान भइरहेको छ। काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको रकम ठगीमा भने मुद्दा दायर भइसकेको छ। सम्पत्ति शुद्धीकरणमा एक स्थानमा मात्र मुद्दा दायर हुनसक्ने भएकाले कास्कीमा मात्र मुद्दा दायर भएको छ।

*अपडेट गरिएको

पुष २६, २०८१ शुक्रबार १९:०८:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।