गत मंसिरको तुलनामा रेमिटेन्स घट्यो, विदेशी मुद्रा बढ्यो
काठमाडौँ : नेपाल राष्ट्र बैंकका अनुसार मंसिर महिनामा रेमिटेन्स ४.४ प्रतिशतले बढेर ६ खर्ब ४० अर्ब ४३ करोड पुगेको छ। अघिल्लो वर्षको मंसिर महिनामा रेमिटेन्स २४.२ प्रतिशतले बढेको थियो। गत मंसिरको बुद्धिसँग तुलना गर्ने हो भने रेमिटेन्स घटेको छ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर २.५ प्रतिशतले बढेर ४ अर्ब ७३ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह २१.१ प्रतिशतले बढेको थियो।
वैदेशिक रोजगारमा जाने बढे
मंसिर महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या १ लाख ९० हजार र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख ३५ हजार ४ सय २५ रहेको छ। गत आथिर्क वर्षको मंसिर महिनामा श्रम स्वीकृति लिने १ लाख ७१ हजार ९७५ र १ लाख २ हजार ५४२ रहेको थियो।
मंसिर महिनामा शोधनान्तर स्थिति (देशमा भित्रिने रकम र बाहिरिने रकमको अनुपात) २ खर्ब २५ अर्ब ३४ करोडले बचतमा भएको छ।
गत आर्थिक वर्षको मंसिर महिनामा शोधनान्तर स्थिति २ खर्ब १६ अर्ब ५ करोडले बचत भएको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको मंसिर महिनामा १ अर्ब ६३ करोडले बचतमा रहेकोमा चालू आर्थिक वर्षको मंसिर महिनामा १ अर्ब ६७ करोडले बचत भएको छ।
त्यसैगरी, २०८१ असार मसान्तसम्ममा विदेशी विनिमय सञ्चिति (विदेशी मुद्रा) २० खर्ब ४१ अर्ब १० करोड थियो। चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म आइपुग्दा (एक वर्षको अवधिमा) ११.४ प्रतिशतले बढेर २२ खर्ब ७३ अर्ब २६ करोड पुगेको छ।
२०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ मंसिर मसान्तसम्म आइपुग्दा ९.७ प्रतिशतले वृद्धि भएको छ। जसमा १६ अर्ब ७६ करोड पुगेको छ।
पुष २६, २०८१ शुक्रबार १८:३२:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।