विवाहपछिको थरका आधारमा महिलालाई समानुपातिकमा नराख्न सांसदहरूको माग

विवाहपछिको थरका आधारमा महिलालाई समानुपातिकमा नराख्न सांसदहरूको माग

काठमाडौँ : महिला सांसदहरूले विवाहसँगै बदलिने थरलाई आधार बनाएर समावेशी समूह परिवर्तन गरेर समानुपातिक सांसद हुन नहुने बताए।

क्लस्टर बाहिरका महिलाले दलित/जनजाति/पिछडिएको वर्ग र अल्पसङ्ख्यक समुदायका पुरुषसँग विवाह गरेमा उनीहरूले समेत सोही समूहबाट समानुपातिक प्रतिनिधित्व गर्ने गरेका छन्।

प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक न्याय समितिको शुक्रवारको बैठकमा समिति सदस्यहरूले यसरी महिलाको विवाहपछिको थरका आधारमा समानुपातिक प्रतिनिधित्व गर्दा न्यायसङ्गत नहुने धारणा राखेका हुन्।

बैठकमा सांसद रोशन कार्कीले समानुपातिक निर्वाचनमा महिलाको वैवाहिक अवस्थितिले पनि प्रतिनिधित्व गर्दा असर परेको बताइन्।

सांसद कल्पना मियाँ कुसारीले महिलाको समावेशी समूह वैवाहिक अवस्थाले निर्धारण गर्दा प्रतिनिधित्वमा फरक पर्ने बताइन्।

‘समानुपातिक निर्वाचनभित्र क्लस्टरमा समस्या देखिएको छ। मेरो बुझाइमा विवाहपछि परिवर्तन हुने क्लस्टरबाट प्रतिनिधित्व गर्नु गलत हो’ उनले भनिन्।

उनले यस विषयमा निर्वाचन आयोगसँग समेत छलफल गर्नुपर्ने माग राखेकी थिइन्।

समिति सदस्य सुशीला श्रीपालि ठकुरीले समानुपातिक निर्वाचनमा समूहमा पनि कुन समूहको निर्वाचित गर्ने भन्ने विषयमा राजनीतिक दल जिम्मेवार बन्नुपर्ने बताइन्।

पुष २६, २०८१ शुक्रबार १७:४३:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।