पूजाको कप्तानीमा यू-१९ टिम विश्वकप खेल्न मलेसिया गयो, समूह प्रतिस्पर्धी बङ्गलादेश, अस्ट्रेलिया र स्कटल्यान्ड

पूजाको कप्तानीमा यू-१९ टिम विश्वकप खेल्न मलेसिया गयो, समूह प्रतिस्पर्धी बङ्गलादेश, अस्ट्रेलिया र स्कटल्यान्ड

काठमाडौँ : पूजा महतोको कप्तानीमा मलेसियामा आयोजना हुने आइसिसी यू-१९ (उन्नाइस वर्षमुनि) महिला विश्वकप क्रिकेट प्रतियोगिता सहभागी हुन नपाली टोली मलेसिया गएको छ।

नेपाल क्रिकेट सङ्घ(क्यान)ले टोलीलाई शुक्रवार बिदाइ गर्यो। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, क्यानका पदाधिकारीलगायतले टिमलाई सफलताको शुभकामना दिँदै बिदाइ गरेका थिए।

युवा तथा खेलकुदमन्त्री चौधरीले नेपाली युवा टोलीले उत्कृष्ट खेल प्रदर्शन गर्नेमा आफू विश्वस्त रहेको बताए।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को आयोजनामा हुने उक्त प्रतियोगिता आगामी माघ ५ देखि २० सम्म सञ्चालन हुनेछ। प्रतियोगितामा नेपालको यो पहिलो सहभागिता हो। विभिन्न १६ राष्ट्र सहभागी विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ।

नेपालको समूहमा बङ्गलादेश, अस्ट्रेलिया र स्कटल्यान्ड छन्। नेपालले समूह चरणको पहिलो खेल आगामी माघ ५ गते बङ्गलादेशसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ।

त्यस्तै दोस्रो खेल माघ ७ गते स्कटल्यान्डसँग खेल्नेछ भने माघ ९ गते अस्ट्रेलियासँग खेल्नेछ। 

विश्वकपको समूह ‘ए’ मा आयोजक मलेसियासहित भारत, श्रीलङ्का र वेस्ट इन्डिज छन्। त्यस्तै समूह ‘बी’ मा इङ्गल्यान्ड, आयरल्यान्ड, पाकिस्तान र अमेरिका छन् भने समूह ‘सी’ मा न्यूजील्याण्ड, समोआ, दक्षिण अफ्रिका र नाइजेरिया रहेका छन्।

नेपाली युवा टोलीमा कप्तान महतोसँगै सोनी पाख्रिन, किरणकुमारी कुँवर, कृष्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, सावित्रा धामी, रचना चौधरी, अनु कडायत, तिर्सना विक, रिया शर्मा, अलिशाकुमारी यादव, कुसुम गोदार, सिमाना केसी र ज्योत्सिका मरासिनी छन्।

नेपाली टोलीका प्रशिक्षक महेशप्रसाद रिजालले नेपाली टोलीको प्रशिक्षण राम्रो भएको बताउँदै प्रतियोगितामा शतप्रतिशत नतिजा ल्याउने योजना रहेको बताए।

पुष २६, २०८१ शुक्रबार १७:३२:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।