बढ्यो महंगी : कात्तिकमा महंगी दर ५.०६ रहेकोमा मंसिरमा ६.०५ प्रतिशत पुग्यो
काठमाडौँ : देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार गत मंसिर महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति (महंगी) ६.०५ प्रतिशत पुगेको छ।
गत कात्तिक महिनामा यस्तो महंगी ५.०६ प्रतिशत रहेकोमा मंसिर महिनामा महँगी बढेको हो। अघिल्लो वर्षको सोही मंसिर महिनामा मुद्रास्फीति ४.९५ प्रतिशत रहेको थियो।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९.९९ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९२ प्रतिशत रहेको राष्ट्र बैँकले जनाएको छ।
मंसिर महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ४३.०५ प्रतिशत, दाल तथा गेडागुडीको १०.६६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.७० प्रतिशत र घ्यू तथा तेलको ९.३९ प्रतिशतले बढेको छ भने मरमसला उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १.१८ प्रतिशत र चिनी तथा चिनीजन्य पदार्थको०.८३ प्रतिशतले घटेको छ।
गैर–खाद्य तथा सेवा समूह अन्तर्गत विविध वस्तु तथा सेवा उप– समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ७.९८ प्रतिशत, मदिराजन्य पेय पदार्थको ७.०१ प्रतिशत, कपडाजन्य तथा जुत्ता चप्पलको ६.७५ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको ५.२९ प्रतिशतले बढेको छ।
मंसिर महिनामा काठमाडौँ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.८२ प्रतिशत, तराईको ६.३१ प्रतिशत, पहाडको ५.६५ प्रतिशत र हिमालको ६.५८ प्रतिशत रहेको राष्ट्र बैँकले जनाएको छ।
पुष २६, २०८१ शुक्रबार १७:१७:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।