विद्यार्थीको मृत्युपछि चीनमा प्रदर्शन, हिंसा भड्किएपछि प्रहरीको कडा कारबाही
एजेन्सी : उत्तर-पश्चिम चीनको एक शहरमा एक बालकको मृत्युपछि हिंसात्मक प्रदर्शन भएको छ। बीबीसीले प्रमाणित भिडियोमार्फत यसको पुष्टि गरेको हो।
सामाजिक सञ्जालमा शेयर गरिएको भिडियोमा प्रदर्शनकारीले प्रहरीमाथि सामान प्रहार गरिरहेका छन्। शान्सी प्रान्तको पुचेङमा पनि अधिकारीहरूले केही प्रदर्शनकारीहरूलाई कुटपिट गरेको देखिन्छ।
ती किशोरको जनवरी २ मा विद्यालयको छात्रावासमा लडेर मृत्यु भएको अधिकारीहरूले बताएका छन्। उनको मृत्युपछि यो कुरा लुकाइएको भन्दै सामाजिक सञ्जालमा चर्चा भयो।
त्यसको लगत्तै सुरू भएको विरोध प्रदर्शन कयौं दिनसम्म जारी रह्यो। तर, यो हप्ताको सुरूमा यो प्रदर्शनलाई प्रहरीले बल प्रयोग गरेर दबाएको थियो। त्यसपछि पुचेङमा विरोध प्रदर्शनको खबर बाहिरिएको छैन।
चीनमा सार्वजनिक प्रदर्शनहरू असामान्य होइनन्। तर, २०२२ मा कोभिड नीतिहरू विरुद्धको विरोध प्रदर्शनमा कम्युनिष्ट पार्टी र राष्ट्रपति सी जिनपिङको आलोचना भएपछि भने त्यहाँका अधिकारीहरू बढी संवेदनशील हुन्छन्।
पुछेङमा भएको प्रदर्शनका विषयमा सरकारी मिडिया मौन छ। प्रदर्शनको कुनै पनि भिडियो क्लिप वा पोस्टलाई त्यहाँको सामाजिक सञ्जालले व्यापक रूपमा सेन्सर गरेको छ।
पुष २६, २०८१ शुक्रबार १२:२७:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।