जय ट्रफीमा पनि क्यानले छोडेन जुवाको प्रचार, ‘अन्तर्राष्ट्रिय प्रचलन’ भन्दै पारसले फेरि मन्त्रीलाई झुक्याए

जय ट्रफीमा पनि क्यानले छोडेन जुवाको प्रचार, ‘अन्तर्राष्ट्रिय प्रचलन’ भन्दै पारसले फेरि मन्त्रीलाई झुक्याए

काठमाडौं : नेपाल क्रिकेट संघ(क्यान) पुनः एकपटक अनलाइन जुवा खेलाउने कम्पनीको प्रवर्द्धनमा सक्रिय भएको छ।

अनलाइन जुवा खेलाउने कम्पनी डाफाबेटको सरोगेट कम्पनी डाफान्यूजलाई जय ट्रफीको प्रायोजक राखेर क्यानले जुवाको प्रवर्द्धन गरेको हो।

वीरगञ्ज र जनकपुरमा पुस २१ गतेबाट सुरू भएको जय ट्रफी एलिट कपमा क्यानले डाफान्यूजलाई मुख्य प्रायोजक भन्दै मैदानमा प्रचार सामग्री राखेको छ। पहिलो र दोस्रो खेलमा मैदानमा नदेखिएको डाफान्यूजको प्रचार तेस्रो र चौथो खेलमा भने मैदानको बीचमै देखियो।

डाफान्यूज अलनाइन जुवा खेलाउने कम्पनी डाफाबेटको सरोगेट कम्पनी हो। नेपालजस्ता जुवा खेलाउन र प्रचार गर्न नपाइने देशमा उनीहरूले पछाडि न्यूज, स्पोर्ट्सजस्ता फुर्को झुन्ड्याउने गर्छन्।

नेपालमा जुवा खेल्न, खेलाउन र प्रचार गर्न पूर्णरूपमा प्रतिबन्ध छ। यसलाई जुवा ऐन २०२० ले पूर्ण प्रतिबन्ध लगाएको छ।

ऐनमा ‘सम्पत्ति हार्ने वा जित्ने गरी कुनै संयोग आधारमा बाजी थापी खेलेको कुनै खेल सम्झनुपर्ने’ भनिएको छ। त्यस्तै, ‘मुलुकी अपराध संहिता २०७४’ को दफा १२५ मा पनि ‘जुवा खेल्न नहुने वा सट्टेबाजी गर्न नहुने’ प्रावधान छ। जसको उपदफा ४ मा सट्टेबाजी गर्नु वा गराउन नहुने भनिएको छ।

त्यसलाई थप प्रस्ट पार्दै उपदफा ५ मा ‘कसैले कानुन बमोजिम खेल्न खेलाउन नहुने कुनै खेल वा प्रक्रियामा खास पक्षले हारेमा वा जितेमा कुनै चल अचल सम्पत्ति वा प्रतिफल पाउने वा गुमाउने गरी बाजी थापेमा सट्टेबाजीको कसुर गरेको मानिने’ उल्लेख छ।

जुवा खेलाउने कम्पनी नेपालमा सिधै कहिल्यै पनि आएका छैनन् र आउँदैनन्। उनीहरुले खेलको समाचार प्रकाशन गर्ने वा खेल सामग्रीको प्रचार गर्ने भन्दै सरोगेट कम्पनीलाई अघि सार्ने गर्छन्। अहिले भइरहेको पनि त्यही हो।

डाफान्यूजको वेबसाइट हेर्दा समाचारको जस्तो देखिन्छ। तर, यसमा कतै पनि जय ट्रफीको बारेमा समाचार छापिएको छैन। डाफान्यूजको वेबसाइटमा लिंक राखेर उनीहरुले डाफाबेटमा पुर्याउने गर्छन्, जसले युवाहरूलाई सहजै खेलमा जित हातको बाजी लगाउन प्रेरित गर्छन्।

जुवा कम्पनीहरू खेलमा आफ्नो प्रचार मात्र गर्दैनन्, खेल फिक्सिङको तहसम्म पुगेको उदाहरण ‘नेपाल टी२० लिग’लाई हेरे पुग्छ। बेटिङ कम्पनी र फिक्सरहरूको प्रलोभनमा फसेर युवा खेलाडी आदिल अन्सारीले अहिले घरेलु क्रिकेट समेत खेल्न पाएका छैनन्।

के भन्छ क्यान?
अनलाइन जुवा कम्पनीको प्रचारमा संलग्न भएको क्यान भने डाफान्यूजलाई समाचार एजेन्सी मान्दै आएको छ। क्यानका प्रवक्ता छुम्बी लामाले आफूहरुले जुवाको प्रचार नगरेको भन्दै समाचार वेबसाइटको प्रवर्धन गरेको तर्क गरे।

उनले भने, ‘डाफा न्यूज ४/५ वर्षदेखि क्यानले ल्याइरहेको छ। यो डाफाबेटको सरोगेट कम्पनी हो। यसको मुख्य कम्पनीले के गर्छ हामीलाई थाहा छैन। डाफान्यूजले चाँही न्यूजमात्रै हाल्छ। क्यानले कहिल्यै पनि जुवाको प्रोमोट गर्दैन। डाफान्यूज प्रायोजकको रुपमा मात्रै आएको हो, अरु केही होइन।’

तर, यसअघि उकेरासँगै गरेकाे कुराकानीमा क्यानका प्रवक्ता लामाले यसअघि वानएक्सबेट र डाफान्यूज ल्याउँदा खेलमै मिलेमतो देखिएपछि उसलाई नल्याएर नयाँ स्पन्सरको रूपमा जुवा खेलाउने कम्पनी वुल्फ७७७ को सरोगेट कम्पनी वुल्फ७७७न्यूज ल्याएको बताएका थिए।

यसले पनि उनको कथनी र करणी एकआपसमा बाझिएको स्पष्टै देखिन्छ।

बुधबार र बिहीबार भएको मधेश प्रदेश र नेपाल पुलिस क्लबको खेलमा मैदानमै देखिएको डाफान्यूजको प्रचार

लामाले डाफान्यूजले समाचार मात्र प्रकाशित गर्छ भनेको तर्क गरेपछि हामीले उक्त वेबसाइटमा जय ट्रफीको समाचार खोज्यौँ। तर फेला पार्न सकेनौँ।

आफूहरुलाई एक/दुई लाख दिने प्रायोजक समेत पाउन मुस्किल भएको भन्दै उनले अहिले डाफान्यूजले जय ट्रफीको मुख्य प्रायोजन गरेको बताए।

उनले थपे, ‘डाफान्यूज जय ट्रफीको मुख्य प्रायोजक हो। प्रतियोगितामा १/२ लाख दिने स्पोन्सर समेत पाउन मुस्किल छ।’

कारबाही नै गर्दैन प्रहरी र मन्त्रालय
गत मंसिर १५ देखि पुस ६ गतेसम्म त्रिवि क्रिकेट मैदानमा भएको नेपाल प्रिमियर लिग (एनपिएल)मा पनि अनलाइन जुवा खेलाउने कम्पनी वुल्फ७७७ को सरोगेट कम्पनी वुल्फ७७७न्यूजको प्रचार गर्यो।

खेल भइरहेको अवस्थामा मैदानबाटै केही भारतीय नागरिकलाई प्रहरीको केन्द्रीय अनुसन्धान विभागको टोलीले दुई भारतीय नागरिक सन्दिपकुमार सिंह र प्रियांशुकुमार सिंहलाई समेत पक्राउ गर्यो। उनीहरुले एनपिएलको खेलमा बेटिङ्ग गराएर २५ करोडको कारोबार गरेको खुल्यो।

यतिमात्रै होइन, अनलाइनको जालो पछिल्लो समय अरुको बैंक खाता लिएर मुख्य योजनाकारले प्रयोग गर्ने गरेको समेत देखिएको थियो। जसमा युवा पुस्तालाई केही रकमको प्रलोभनमा पारेर नेपाली बैंकको खाता प्रयोग गरेर जुवा बापतको रकम बाहिर लग्ने सम्मको तथ्य सिआईबीले पाएको थियो।

वुल्फ७७७ बाट जुवा खेलेको अनि खेलाएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नितेश हरिजन, आकाश मिश्र, प्रतीक बस्याल, रामु गिरी, सजल श्रेष्ठ र अभिषेक जैसवाललाई पक्राउ गरेको थियो। वुल्फ७७ त्यही कम्पनी हो, जसको सरोगेट कम्पनीको प्रचार क्यानले एनपिएलमा डिजिटल बोर्डदेखि मैदानको बीच भागमै गरेको थियो।

२०८१ जेठ ३० मा अनुसन्धान सुरू गरेको प्रहरीले यसमा विजय जैसवाल, रविन प्रसाद कानु र दुर्गाराज श्रेष्ठसमेत संलग्न रहेको खुलायो। तर यी पक्राउ परेनन्।

जेठ ३१ बाट सुरु भएको खोजीकोक्रममा पक्राउ परेकाहरु मध्येका नितेश हरिजन यो समूहको सबैभन्दा सक्रिय सदस्य देखिए तर यिनीहरुलाई प्रहरीले पक्राउ गर्न सकेन। जसले भाडामा बैंक खाता दिएको थियो उनीहरु मात्रै पक्राउ परे।

यसरी युवाहरू जुवाको जालोमा फसिरहादा क्यानका पदाधिकारीहरू भने जुवाो प्रचार नै नगरेको ठोकुवा गर्दै हिँडिरहेका छन्।

क्यानले अनलाइन जुवा कम्पनीको प्रचार गरिरहेको विषयमा प्रहरी प्रशासनदेखि क्यानको नियामक राष्ट्रिय खेलकुद परिषद् र खेलकुद मन्त्रालयसम्म जानकार छ। तर, जुवा खेल्न प्रोत्साह गर्ने क्यानका पदाधिकारीहरूमाथि कारबाही गर्ने आँट न त प्रहरीले देखाएको छ न त मन्त्रालयले नै!

उकेरासँगको कुराकानीमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपालको कुनै पनि खेलमा जुवा खेलाउने कम्पनीको सरोगेट कम्पनी ल्याउन नदिने दाबी गर्दै गर्दा क्यानका पदाधिकारी नाकै अगाडि नेपाल क्रिकेट संघले जुवा खेलाउने सरोगेट कम्पनीको प्रचार गरिरहेको थियो।

मन्त्री र विज्ञापन बोर्डलाई छैन जानकारी
खेलकुद मन्त्रीको रूपमा रहेका तेजुलाल चौधरीलाई जय ट्रफीमा डाफान्यूजको प्रचार भइरहेको विषयमा सोध्दा उनले आफूलाई जानकारी नभएको बताए।

‘ल हो र! मलाई थाहा नै छैन। यो विषयमा म क्यान अध्यक्षसँग बुझ्छु। म आजै बुझिहाल्छु। बेलुका फोन गर्नुहोला।’

पछि सम्पर्क गर्दा मन्त्री चौधरीले क्यानसँग कागजपत्र मागेको जानकारी दिए।

उनले अगाडि थपे, ‘मैले पारसजीसँग बुझेको थिएँ। उहाँले अन्तराष्ट्रिय प्रचलन भएको जानकारी दिनुभयो। मैले कागजपत्र उपलब्ध गराउन भनेको छु।’

तर, यहाँ पनि पारसले ‘अन्तर्राष्ट्रिय प्रचलन’ भनेर मन्त्रीलाई झुक्याएछन्। यसअघि आईसीसी र एसीसीको प्रावधानमा अल्झाइदिएका पारसले यसपटक अन्तर्राष्ट्रिय प्रचलन भनेर मन्त्रीलाई झुक्याइदिएछन्।

आईसीसी र एसीसीले जुवाको प्रचारको सन्दर्भमा आफ्नो देशको कानूनअनुसार गर्नु भन्छ। दक्षिण अफ्रिका र इंग्ल्यान्डजस्ता देशका कानूनले यसको प्रचार गर्न रोकेका छैनन्। त्यसलै त्यहाँ यसको प्रचार हुन्छ। तर, जुवा प्रचारको कानून नै नभएको देश नेपालमा पारसजस्ता पदाधिकारीले ‘अन्तर्राष्ट्रिय प्रचलन’ भनेर जुवाका खुलेआम प्रचार गरिरहेका छन्।

त्यसैगरी नेपालमा कुनै पनि कार्यक्रममा विज्ञापान ल्याउँदा विज्ञापन बोर्डबाट अनुमति लिनुपर्ने कानूनी प्रावधान छ। तर, नेपाल क्रिकेट संघले त्यो कानूनी प्रक्रिया पनि पूरा नगरेको देखियो।

जय ट्रफीमा भइरहेका डाफान्यूजको विज्ञापनको विषयमा विज्ञापन बोर्डलाई जानकारी नै रहेनछ। बोर्डकी अनुगमन प्रमुख तारा घिमिरेले प्रतियोगिता भएको बारेमै जानकारी नभएको बताइन्।

उनले भनिन्, ‘जय ट्रफी भइरहेको छ? खै यसबारेमा त केही जानकारी नै छैन। अब हामी क्यानलाई फेरि पत्र काट्छौँ।’

एनपीएलको बारेमा विज्ञापन बोर्डले स्पष्टिकरण सोध्दै काटेको पत्रको समेत क्यानले जवाफ दिनको रैनछ। त्यतिबेला बोर्डले सात दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको थियो।

‘त्यो खेल भएको बेला काटेको पत्रको जवाफ नै आएको छैन। अब त खेल पनि सकिसक्यो। कानूनको पूर्ण कार्यान्वयन नै हुँदैन। यस्तो त छ’, उनले भनिन्।

विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गरेको ऐनको दफा ५ को उपदफा १ को (ख)ले ‘जुवा खेल्न, खेलाउन वा प्रचलित कानुन बमोजिम अनुमति नलिइएको चिट्ठा किन्न, किनाउन प्रोत्साहन गर्ने विषयमा’ रोक लगाएको छ।

सम्बन्धित समाचार:

पुष २६, २०८१ शुक्रबार ११:३३:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।