नयाँ क्षेत्रमा फैलियो लस एन्जलसको आगो, मृत्यु हुनेको संख्या पनि बढ्यो
एजेन्सी : अमेरिकाको लस एन्जलसको जंगलमा लागेको आगो लगातार बढिरहेको छ। जसका कारण हालसम्म सात जनाको मृत्यु भइसकेको छ।
लस एन्जलसका मेयर करेन बासले पश्चिमी पहाडमा नयाँ आगलागी सुरू भएको र तीव्र हावाका कारण यो आगो तीव्र गतिमा फैलिन सक्ने बताइन्।
उनले प्रशासनको आदेशको पालना गरी स्थान खाली गर्न सर्वसाधारणलाई आग्रह गरिन्।
लस एन्जलसको फायर डिपार्टमेन्टका प्रमुख क्रिस्टन क्राउलीले पालिसेड्समा भएको आगलागीमा परी दुई जनाको मृत्यु भएको बताए।
आगलागीका कारण कतिको ज्यान गएको भन्नेबारे अहिलेसम्म यकिन जानकारी नआइसकेको उनले बताए।
यसअघि इटनमा आगलागीका कारण पाँच जनाको मृत्यु भएको जानकारी आएको थियो।
पालिसेड्सको आगलागी १९ हजार एकडभन्दा बढी क्षेत्रमा फैलिएको क्राउलीले बताए। जसका कारण ५३ सयभन्दा बढी घर वा भवन ध्वस्त भएका छन्।
आगलागी विभागका प्रमुखले भेन्टुरा काउन्टीमा नयाँ आगलागी भएको बताए। आगो ५० एकड क्षेत्रफलमा फैलिएको छ। यसलाई निभाउन ६० भन्दा बढी दमकल परिचालन गरिएको छ।
भेन्टुरा काउन्टी बाहेक केनेथमा पनि नयाँ आगलागी भएको छ, जुन ८०० एकड क्षेत्रफलमा फैलिएको छ।
पुष २६, २०८१ शुक्रबार ०८:२६:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।