रविलाई धरौटीमा छाड्ने न्यायाधीश नीतिज : खुल्ला कोटामा प्रतिस्पर्धा गरेर न्यायाधीश, पहिलो पोस्टिङ नै कास्की
काठमाडौं : न्याय सेवा आयोगले ४३ रिक्त जिल्ला न्यायाधीशमा नियुक्त गर्न वैशाख २७ देखि ३० सम्म लिखित परीक्षा सञ्चालन गर्यो। त्यसमा सहभागी भए दुई सय तीन जना। त्यसमा जम्मा आठ जना पास भए। जतिले लिखितमा नाम निकाले ती सबै असार ९ को अन्तर्वार्तामा सफल भए।
२०८१ असार १८ मा न्याय परिषद्ले जिल्ला न्यायाधीशमा नियुक्त गर्न आठ जनाको नाम सिफारिस गरेकामध्ये छैटौं नम्बरको नाम थियो नीतिज राई। उनको न्यायाधीशको पहिलो पोस्टिङ भयो पोखरा। असार १८ मै उनको जिल्ला अदालत कास्कीमा पदस्थापन भयो।
उनी जिल्ला न्यायाधीश नियुक्त हुनुअघि न्याय प्रशासनमा उप-सचिव पदमा थिए, त्यो पनि अख्तियारमा। उनी कानुन व्यवसायी वा बारको सिफारिस कोटामा परेर न्यायाधीश भएका हैनन्, लोकसेवाको परीक्षामा सहभागी भएर खुला प्रतिस्पर्धामा न्यायाधीश भएका हुन्।
जानकारका अनुसार राईको पारिवारिक पृष्ठभूमि न्याय क्षेत्र नै हो। उनले ‘काठमाडौं स्कुल अफ ल’मा कानुन पढेका हुन्। उनी सो कलेजको सन् २००९ को एलएलबीका छात्र हुन्। उनले सन् २०१४ मा एलएलएम गरेका थिए।
क्रिमिनल ल मा एलएलबी र बिजनेस एन्ड इन्टरनेशनल ट्रेड कानुन एलएलएम गरेका उनी सन् २०१२ मा जिल्ला अदालत काठमाडौंमा इन्टर्न गरे।
जुरिस्ट एन्ड कम्पनीमा काम गरेका उनी २०१६ मा सर्वोच्च अदालतमा शाखा अधिकृत भए। लेखनमा रुचि भएका उनी अध्ययनको क्रममा काठमाडौं स्कुल अफ ल रिभ्यूको सम्पादक समेत भएका थिए।
पुष २६, २०८१ शुक्रबार ०२:०७:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।