उकेरा टप फाइभ : रविको ८४ दिने हिरासत बसाइको टाइमलाइनदेखि निर्मल पुर्जासँग जोडिएको रहस्यमय विष्फोटसम्म

उकेरा टप फाइभ : रविको ८४ दिने हिरासत बसाइको टाइमलाइनदेखि निर्मल पुर्जासँग जोडिएको रहस्यमय विष्फोटसम्म

काठमाडौं : सूर्यदर्शन सहकारीको बचतकर्ताको रकम अपचलनको अभियोगमा लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६५ लाख धरौटीमा  छाड्न जिल्ला अदालत कास्कीले आदेश दिएको छ। थुनछेक बहस सकिएपछि बिहीबार सो आदेश आएको हो। अदालतका न्यायाधीश नीतिज राईको इजलासले उनलाई पुर्पक्षमा नपठाई धरौटीमा छाड्न आदेश दिएको हो।

अदालतले रविसहित सातै जना अभियुक्तलाई धरौटीमा छाड्न आदेश दिएको छ। पूर्वडिआइजी छविलाल जोशीलाई ८८ लाख, रामबहादुर खनाललाई १५ लाख, लीला पछाइलाई ३७ लाख, आरती गुरूङलाई ५ लाख, मीना गुरूङलाई ५ लाख, कृष्णबहादुर गुरूङलाई १ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको हो। उनीहरूमध्ये लिलाबाहेक सबैले धरौटी बुझाइसकेका छन्।

तर, यसअघि धरौटी बुझाएर रिहा भएलगत्तै पुनः पक्राउ गर्ने तयारी भएपनि प्रहरीले रविलाई स्वास्थ्य परीक्षण गराएर स्वयं काठमाडौं अदालतमा हाजिर हुने सर्तमा छाड्ने भएको हो। बैंक ग्यारेन्टीमार्फत धरौटी बुझाइसकेका रविको अब मेडिकल जाँच गर्ने तयारी छ। अहिले उनी कास्की हिरासतबाट निस्किसकेका छन्। 

रविविरुद्व काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्था ठगी गरेको आरोपमा प्रहरीले मुद्दा अघि बढाएको छ। यसै सन्दर्भमा कास्की प्रहरीले उनलाई काठमाडौं पठाउने तयारी गरेको भएपनि आफैं उपस्थित हुने सर्तमा अहिले उनलाई श्रीमती निकिता पौडेल र रास्वपाका उपसभापति डिपी अर्यालको जिम्मामा छाड्न लागिएको हो। 

नेपालका व्यवसायीहरूलाई भारतको जेलमा रहेका भारतीय गुन्डा नाइके लरेन्स बिश्नोईको नाममा धम्क्याएको आरोप लागेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं र उनीबाट परिचालित हरिचन्द्र फुयाँल धरौटीमा रिहा भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले उनीहरूलाई जनही तीन/तीन लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। अदालतको आदेशपछि उनीहरू दुवै जना धरौटी बुझाएर रिहा भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का प्रवक्ता होविन्द्र बोगटीले बताए।


अब आज उकेरामा प्रकाशित टप फाइभ समाचार

-कपनमा रहेको इलाइट हिमालयन एडभेञ्चरको कार्यालयमा २०७९ असोज ५ मा शंकास्पद विस्फोट र आगलागी भयो।
-घटनामा तीन जनाको मृत्यु भयो र एक जना घाइते भए।
-घर पूर्णरूपमा क्षतिग्रस्त भएपछि घरधनी टंक घिसिङले क्षतिपूर्तिको माग गरे।
-काठमाडौं जिल्ला अदालतले इलाइट हिमालयन एडभेञ्चरलाई १ करोड १३ लाख १९ हजार रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश दियो।
-विस्फोटको कारण अझै पनि रहस्यमय छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरे पनि कुनै निष्कर्षमा पुग्न सकेन।
-यस घटनासँग जोडिएका अन्य विवादहरूमा निर्मल पुर्जाको दोहोरो नागरिकता, मृतक तेन्जिङ शेर्पाकी भनिएकी श्रीमती युवन्तिकाको नक्कली नागरिकता र विवाहको विवाद पनि समावेश छन्।
विस्तृत रिपोर्ट : तीन जनाको ज्यान गएको विस्फोट प्रकरणमा निर्मल पुर्जाको कम्पनीले तिर्नुपर्ने भयो एक करोड क्षतिपूर्ति, विस्फोट’को कारण रहस्यमै

कमलप्रसाद भट्टराईले मेकअपसँगै ६० भन्दा बढी फिल्म तथा टेलिफिल्ममा पनि अभिनय गरे। ‘उपहार’, ‘छक्का पञ्जा’जस्ता ठूला पर्दाको फिल्ममा समेत अभिनय गरेका उनी ‘हल्का रमाइलो’, ‘राधाकृष्ण’, ‘जुठे’ जस्ता टेलिफिल्ममा समेत कलाकारको रुपमा देखिन्छन्। २०१६ सालमा काठमाडौंको नरदेवीमा जन्मिएका उनै भट्टले आफ्ना ‘हिजोका कुरा’ उकेरासँग सुनाएका छन्। 
पूरा समाचार: मेकअप आर्टिस्ट कमलको हिजोको कुरा : बसन्तपुरमा सुटिङ हुँदा देवानन्द र हेमा मालिनीले गाला मुसारेपछि फिल्ममै लागेँ

सार्वजनिक निकायको आर्थिक पारदर्शितामाथि निगरानी राख्ने दायित्व भएको सार्वजनिक लेखा समितिका सभापति छन् एमालेका सांसद ऋषिकेश पोखरेल। तर उनै पोखरेल भने अहिले गम्भीर वित्तीय अपराधमा जोडिएका अभियुक्त र आरोपीबाट घेरिएका छन्। उनकी श्रीमती अन्जला कोइराला सहकारी ठगीको गम्भीर अपराधको अभियुक्त बनेकी छिन्। उनै पोखरेलका स्वकीय सचिव अनिल पोखरेल एमबिबिएसको अध्ययनका लागि नाम निकालिदिन्छु भनेर ठगी गरेको रकम फिर्ता नगरेको आरोपमा पक्राउ परे।
पूरा समाचार: अभियुक्त र आरोपीले घेरिएका पोखरेल सार्वजनिक लेखा समितिमै सभापति

२०८१ कात्तिक २ मा काठमाडौंमा पक्राउ गरेर कास्की लगिएका रवि लामिछानेलाई ८४ दिनको न्यायिक परीक्षणपछि जिल्ला अदालत कास्कीले ६५ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश दियो। उनी २०८१ कात्तिक २ मा काठमाडौंमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा पक्राउ परी सोही दिन स्थलमार्गबाट कास्की लगिएको थियो। उनी विरुद्ध कास्कीसहित पाँच जिल्लामा सहकारी ठगीको आरोप छ। काठमाडौंमा स्वर्णलक्ष्मी सहकारीको बचतकर्ताहरू रकम ठगीमा अभियोग पत्र दर्ता भइसकेको छ। प्रस्तुत छ, उनी पक्राउ परेदेखि धरौटीमा रिहाइको आदेशसम्मको विवरण टाइमलाइन।​​​​​​​​​​​​​​
पूरा समाचार: रविको 'न्यायिक परीक्षण'को ८४ दिन

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादव र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सांसद प्रेम सुवालबीच चर्काचर्की परेको छ। बिहीबारको बैठकमा नेपाल वायुसेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफलपछि निर्णय गर्ने क्रममा समितिमा उपस्थित नभएका सांसदको संयोजकत्वमा उपसमिति बनाइएको भन्दै सांसद सुवालले असहमति जनाएपछि चर्काचर्की भएको हो। बैठकमा राजकिशोर निकै आक्रामक रुपमा प्रस्तुत भएर सुवाललाई ‘औँला तल राख्नुस्, नौटङ्की गर्ने’ भनेपछि दुवैबीच चर्काचर्की शुरू भयो।
पूरा समाचार: संसदीय समितिमा सभापति राजकिशोरले प्रेम सुवाललाई ‘औँला तल राख्नुस्, नौटङ्की गर्ने?’ भनेपछि...(संवादसहित)

 

पुष २५, २०८१ बिहीबार २१:३९:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।