लरेन्स बिश्नोईको नाममा व्यवसायीलाई धम्क्याएको आरोप लागेका दुर्गा प्रसाईं र हरिचन्द्र फुयाँल धरौटीमा रिहा

लरेन्स बिश्नोईको नाममा व्यवसायीलाई धम्क्याएको आरोप लागेका दुर्गा प्रसाईं र हरिचन्द्र फुयाँल धरौटीमा रिहा

काठमाडौं : नेपालका व्यवसायीहरूलाई भारतको जेलमा रहेका भारतीय गुन्डा नाइके लरेन्स बिश्नोईको नाममा धम्क्याएको आरोप लागेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं र उनीबाट परिचालित हरिचन्द्र फुयाँल धरौटीमा रिहा भएका छन्। 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले उनीहरूलाई जनही तीन/तीन लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।

अदालतको आदेशपछि उनीहरू दुवै जना धरौटी बुझाएर रिहा भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का प्रवक्ता होविन्द्र बोगटीले बताए।

प्रसाईं, फुयाँल र रामचन्द्र मैनालीविरूद्ध बुधबार सरकारी वकिलको कार्यालय काठमाडौंले मुद्दा दायर गरेको थियो। मैनाली फरार छन्। उनीहरूले संगठित रूपमा गभर्नर महाप्रसाद अधिकारी र व्यवसायीहरूलाई धम्क्याएको आरोप थियो। 

सिआइबीले मंसिर १४ मा झापा मेचीनगर-१३ का फुयाँललाई पक्राउ गरेर विज्ञप्तिमै उनी दुर्गा प्रसाईंबाट परिचालित रहेको दाबी गरेको थियो। केही नेपाली ब्यवसायीहरुलाई भारतीय कुख्यात अपराधी लरेन्स बिश्नोईको नाम लिएर फोन आएको र फोनमा धम्की दिइएको भन्दै प्रहरीमा उजुरी परेपछि अनुसन्धान सुरू भएको थियो।

अनुसन्धानका क्रममा अहिले प्रसाईंले व्यवसायीलाई धम्काउन ५ लाख रूपैयाँको 'सुपारी' फुयाँललाई दिएको खुलेको थियो।  

पुष २५, २०८१ बिहीबार २०:०९:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।