तीन जनाको ज्यान गएको विस्फोट प्रकरणमा निर्मल पुर्जाको कम्पनीले तिर्नुपर्ने भयो एक करोड क्षतिपूर्ति, विस्फोट’को कारण रहस्यमै

तीन जनाको ज्यान गएको विस्फोट प्रकरणमा निर्मल पुर्जाको कम्पनीले तिर्नुपर्ने भयो एक करोड क्षतिपूर्ति, विस्फोट’को कारण रहस्यमै

स्टोरी हाइलाइट्स

-कपनमा रहेको इलाइट हिमालयन एडभेञ्चरको कार्यालयमा २०७९ असोज ५ मा शंकास्पद विस्फोट र आगलागी भयो।

-घटनामा तीन जनाको मृत्यु भयो र एक जना घाइते भए।

-घर पूर्णरूपमा क्षतिग्रस्त भएपछि घरधनी टंक घिसिङले क्षतिपूर्तिको माग गरे।

-काठमाडौं जिल्ला अदालतले इलाइट हिमालयन एडभेञ्चरलाई १ करोड १३ लाख १९ हजार रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश दियो।

-विस्फोटको कारण अझै पनि रहस्यमय छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरे पनि कुनै निष्कर्षमा पुग्न सकेन।

-यस घटनासँग जोडिएका अन्य विवादहरूमा निर्मल पुर्जाको दोहोरो नागरिकता, मृतक तेन्जिङ शेर्पाकी भनिएकी श्रीमती युवन्तिकाको नक्कली नागरिकता र विवाहको विवाद पनि समावेश छन्।

विस्तृत रिपोर्ट :

OOO

काठमाडौँ : विवादास्पद पर्वतारोही निर्मल पुर्जाको कम्पनीको कार्यालय रहेको घरधनीलाई एक करोड १३ लाख क्षतिपूर्ति तिर्नुपर्ने भएको छ। पुर्जाको कार्यालय रहेको फ्ल्याटमा भएको शङ्कास्पद विस्फोटबाट कपनको पुरै घर ध्वस्त भए पनि उनले क्षतिपूर्ति नदिएपछि घर मालिक टङ्क घिसिङ जिल्ला अदालत काठमाडौँ गएका थिए।

बिहीबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले इलाइट हिमालयन एडभेञ्चर प्रालीले एक करोड १३ लाख १९ हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको हो। सो कम्पनी सञ्चालकमध्ये एक पुर्जा समेत हुन्।

घिसिङले क्षतिपूर्तिको माग गर्दै पुर्जाको कम्पनीदेखि स्थानीय तहसम्म गुहारे पनि कतैबाट निर्णय भएन। पुर्जाको कम्पनीले सो घरको बैङ्कमा बिमा रहेकाले त्यसबाट आउने रकममा नपुगेमा थप दिने तर्क गर्दै आएको थियो। तर घिसिङले अस्वीकार गर्दै गत वर्ष जिल्ला अदालत गए।

उनी अदालत गएपछि इलाइट कम्पनीको सम्पत्ति रोक्का भएको थियो। इलाइटमा निर्मल पुर्जाको १८ हजार ७५० कित्ता सेयर, अर्का लगानीकर्ता मिङ्मा तेन्जी शेर्पाको १ हजार २५० कित्ता र मिङ्मा ग्याबु शेर्पाको ५ हजार कित्ता सेयर छ।

घिसिङले अदालतमा तीन करोड क्षतिपूर्तिको माग गरेका थिए। तर अदालतले क्षतिपूर्तिको फैसला त गर्यो तर एक करोड १९ लाख मात्रै।

विष्फोटपछि घरको अवस्था।सो घरमा भएको शङ्कास्पद विस्फोट, पुर्जाको दोहोरो नागरिकता र राहदानीबारे उकेराले शृङ्खलाबद्ध समाचार प्रकाशित गरेको थियो। पुर्जा बेलायती नागरिक भए पनि उनले नेपाली नागरिकता समेत प्रयोग गरेको र नेपाली राहदानी समेत निकालेको प्रमाणसहित समाचार प्रकाशित भएपछि उनले नेपाली नागरिकता त्यागेका थिए।

पुर्जाले हिमाल आरोहणको क्रममा गरेको यौन दुर्व्यवहारको घटनाहरूबारे न्यूयोर्क टाइम्सले अनुसन्धानमूलक समाचार प्रकाशित गरेको थियो।

पुर्जाको कार्यालय रहेको फ्ल्याटमा भएको विस्फोटन शङ्कास्पद देखिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान सुरु गरे पनि टुङ्गोमा पुग्नै सकेन।

आफू विरुद्धको अनुसन्धान प्रभावित पार्न नेपाल आएको बेलामा पुर्जाले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डदेखि तत्कालीन गृहमन्त्री रवि लामिछानेसम्मलाई भेटेका थिए।

तीन जनाको ज्यान गयो, घर क्षतविक्षत

२०७६ मङ्सिर १ मा सम्झौता गरेर घिसिङको तीन तले घरको पहिलो भुईँ तलामा इलाइट हिमालयन एडभेञ्चर प्रालिको कार्यालय र ट्रेकिङको सामान भण्डारण गरेका थिए।

२०७९ असोज ५ मा त्यही घरमा एक्कासि आगो लाग्यो। आगो मात्र लागेन, शङ्कास्पद विस्फोटहरू समेत भए। घर पुनर्निर्माण गर्नै नसक्ने गरी क्षतविक्षत भयो। त्यही घरमा रहेका इलाइटका चार कर्मचारी गम्भीर घाइते भए।

ताप्लेजुङका २९ वर्षीय तेन्जिङ शेर्पा, सोलुखुम्बुका २४ वर्षीय छेवङ शेर्पा र सङ्खुवासभाका ३२ वर्षीय अशोक राईको मृत्यु भयो। कुशल बुढाथोकी उपचारपछि निको भए।

घरको अवस्था पुनर्निर्माण गर्नै नसक्ने देखियो। घिसिङले पाँच करोड रुपैयाँ मागे। इलाइटले अस्वीकार गर्यो।

बीमाले ल्याएको विवाद

आगलागी र शङ्कास्पद विस्फोटको घटनासँगै क्षतिपूर्तिको विवाद घरको बीमासँग गएर जोडियो। घिसिङले प्राइम र सनराइजमा घर राखेर ऋण निकालेको खुल्यो।

बैंकले ऋण स्वीकृत गर्दा बिमा अनिवार्य हुन्छ। उकेराले समेत सो घरको बिमा रहेको पत्ता लगायो। तर घिसिङले त्यो पक्षमा बोल्न चाहेनन्। घरको मात्र क्षतिपूर्ति भए पाँच करोड, जग्गासहित घर समेत लिने भए ११ करोड मागे।

उता इलाइटले एक करोड दिन सहमति जनाएको थियो। तर उनी सहमत नभई अदालत गए। अन्तमा अदालतले उनलाई १ करोड १९ लाख क्षतिपूर्ति भराउन फैसला गर्यो।

नक्कली विवाह र नागरिकतासम्म

यो घटनामा मारिएका तीनमध्ये एक थिए तेन्जिङ शेर्पा। कम्पनीका सञ्चालकमध्येका एक मिङमा डेभिड शेर्पाका भाइ हुन् उनी। उनको मृत्यु भएसँगै युवन्तिका राई आफू तेन्जिङको श्रीमती भएको दाबी गर्न आइन्।

भाइ अविवाहित रहेको र विवाहबारे घरमा कसैलाई जानकारी नभएको भन्दै शेर्पा परिवारले अस्वीकार गर्यो। उनले स्थानीय तहमा गएर नाता प्रमाणितसमेत बनाइन्। तर अन्तमा युवन्तिका आफैँ नक्कली नागरिकताको घटनामा जोडिइन्।

उनले जसलाई आफ्नो बाबु भनेर नागरिकता बनाएकी थिइन् उनी उनको छोरी देखिइनन्। अन्तमा जिल्ला अदालत चितवनमा उनी विरुद्ध नक्कली नागरिकताको मुद्दा चल्यो। उनी धरौटीमा छुटिन्। मुद्दा विचाराधीन अवस्थामै छ।

विस्फोट कसरी? रहस्यमै

आगलागीपछि घरमा जसरी विस्फोटको आवाजहरू आयो अनि जुन प्रकारको भौतिक क्षति भयो त्यो आगलागीबाट मात्रै सम्भव थिएन। इलाइटको गोदाममा हिमाल आरोहणमा प्रयोग हुने केही साना ग्यास सिलिन्डरहरू थिए, ती सबै विस्फोट भएको थिएन। केही खाना पकाउने ग्याँसका सिलिन्डर पड्किए। अधिकांश जोगिए। तर विस्फोट निकै भयानक थियो।

घरमा जुन प्रकारको विस्फोट भएको थियो त्यसले साना अक्सिजन ग्यासका सिलिन्डर र खाना पकाउने ग्याँस मात्र कारण देखिएको थिएन। सञ्चालक मिङमा आफैँले पनि विस्फोट र त्यसबाट भएको क्षतिप्रति शङ्का गर्दै भनेका थिए 'मेरो भाइको मृत्युको कारण जान्न मलाई पनि मन छ।' घरबेटी घिसिङको भनाई पनि उस्तै थियो।

विष्फोटमा परेको कपनको घर जहाँ निर्मल पुर्जाको कार्यालय थियो। तस्बिर : कृष्पा श्रेष्ठविस्फोट शङ्कास्पद देखिएको भन्दै प्रहरी वृत्त बौद्ध अनि केन्द्रीय अनुसन्धान ब्युरोले समेत घटनाबारे अनुसन्धान गरेको थियो। तर निष्कर्ष केही आएन।

उकेराले केही प्राविधिक अनि विस्फोटबारे जानकार व्यक्तिलाई घटनास्थल लगेर पनि देखाएको थियो। उनीहरू केवल अक्सिजन ग्याँसको सिलिन्डर मात्र पड्किएकोमा विश्वस्त हुन सकेका थिएनन्। के पड्कियो ? अनुमान गर्न सक्ने अवस्था पनि देखिएन। अहिलेसम्म पनि यो घटना अनुसन्धानमै देखियो।

पुर्जा सम्बन्धित समाचार

पुष २५, २०८१ बिहीबार १७:५५:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।