अख्तियारमा घुस रकम बोकेर गएका प्रशासकीय अधिकृत सापकोटाविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोटको किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुवप्रसाद सापकोटाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
सापकोटा अछामको मेल्लेख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुँदा भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको हो। उनीमाथि कैद, बिगो र जरिवाना हुनुपर्ने माग अख्तियारले गरेको छ।
उनी गत मङ्सिर २८ मा कञ्चनपुरस्थित अख्तियारकै कार्यालयमा १ लाख घुससहित पक्राउ परेका थिए। कञ्चनपुरको कार्यालयमा पुगेका उनले मुद्दा मिलाइदिन घुस रकम लिएर आएको आरोपमा अनुसन्धान अधिकृतको कार्यालयबाट पक्राउ परेका थिए।
‘उजुरीसँग सम्बन्धित कागजात पेस गर्न भनी आयोगको कार्यालय कञ्चनपुरका अनुसन्धान अधिकृतको कार्यकक्षमा आई कागजातसहितको खाम दिँदा निजलाई अनुसन्धान अधिकृत आफैंले खोलेर दिनुभन्दा निजले बोकेको हरियो रंगको झोला भित्र रहेको पहेँलो खाममा एक लाख रुपैयाँ भेटिएको थियो, यो के को पैसा हो? भनी सोधपुछ गर्दा मुद्दा मिलाइदिन तपाईंको लागि नै स्वेच्छाले ल्याएको हो भनी भनेका थिए,’ आरोपपत्रमा भनिएको छ।
पुष २५, २०८१ बिहीबार १७:४०:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।