लमजुङमा १०७ वटा अवैध भरूवा बन्दुक बरामद

लमजुङमा १०७ वटा अवैध भरूवा बन्दुक बरामद

काठमाडौं : लमजुङबाट प्रहरीले एक सय ७ वटा अवैध भरूवा बन्दुक बरामद गरेको छ। 

लमजुङको विभिन्न ठाउँबाट अहिलेसम्म एक सय ७ वटा भरूवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डीएसपी निशान श्रीवास्तवले जानकारी दिए।
   
डिएसपी श्रीवास्तवका अनुसार बरामद भएका बन्दुकहरूमा २२ बोर हर्नेट, १२ बोर दुई नाले एक थान, एक नाले वृज लोडिङ राइफल रहेका छन्। दुई थान भरूवा बन्दुक मुद्दा चलेका हतियार पनि छन्।

जिल्ला प्रशासन कार्यालय लमजुङले गएको कार्तिक ११ मा एक सूचना जारी गरेर हातहतियार खरखजना ऐन तथा नियमावली बमोजिम पाँच वर्षसम्म पनि नवीकरण नभएका हातहतियारहरू सुरक्षा निकायमा वा जिल्ला प्रशासन कार्यालयमा बुझाउन भनेको थियो।  

त्यही सूचना अनुरूप लमजुङ जिल्लामा दर्ता भएका साना तथा ठूला गरेर चार सय ७० वटा हतियारमध्ये एक सय १४ वटा बन्दुकधनीहरूले मात्र आफ्नो बन्दुक नवीकरणका लागि आवेदन दिएर बन्दुक संचालनको इजाजत पत्र पाएका छन्। 
  
बाँकी अवैध हतियारहरूको खोजी कार्यलाई तीब्रता दिइएको डिएसपी श्रीवास्तवले जानकारी दिए।   

पुष २५, २०८१ बिहीबार १६:१३:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।