चिसो रात र भोको पेट लिएर पुलमुनि बसिरहेका मुसहर समुदाय भन्छन् ‘बाँचेका छैनौं, मृत्यु पर्खेर बसेका छौं’
सिरहा : शुभनारायण सदा र सुमित्रा सदा बसेको घर ओडार जस्तै छ। बैशाखको टन्टलापुर घामले पिठ्युँ डढाउँछ, बर्खेझरीमा घरभित्रै निथ्रुक्क रूझ्नु, मैनाबत्ती खोलाको भेलले बगाउने त्रासमा रातभरी जाग्राम बस्नु र शीतलहरमा कठ्याङ्ग्रिनु उनको जीवनभरको भोगाइ हो। त्यसकारण मैनाबत्ती नदीको पुलमुनि विगत एक दशकदेखि आश्रय लिएर बसिरहेका छन्।
पुष महिनामा तराईमा कठ्याङ्ग्रिने शीतलहर छ। सदा दम्पतीले खर बटुलेर, पराल मागेर, बनमाराको स्याउला काटेर पुलको पिलरमुनि आश्रय स्थल बनाएका छन्। पुराना जड्यौली लुगा मागेर आङ ढाकेका छन्। न ओढ्ने छ, न ओछ्याउने। घरमा अन्नको गेडो पनि छैन। शीतलहर चलेकाले कतै मजदुरी पनि पाइँदैन। चिसो रातमा भोको पेट। पुलमुनिको बास छ, कसरी बाँचेका छन् उनीहरू?
जवाफमा सुमित्रा भन्छिन्, ‘आगोको सहारा छ। भोक लागे पनि आगो ताप्छौं, जाडो भएपनि आगो ताप्छौं।’
त्यसैमा शुभनारायण थप्छन्, ‘बाँचेका छैनौं, मृत्यु पर्खेर बसेका छौं। मरेपछि यहाँबाट पल्टाइ दिन्छन्। नदीमै छौं। चार चपरी माटो हालेर पुरिदिन्छन्।’
राज्यले समेत आफूहरूलाई उपेक्षा गरेको भन्दै उनले थपे, ‘नेपाल राज्यमा हामीले बाँचुञ्जेल लमतन्न भएर सुत्न एउटा खट राख्ने जमिन पनि पाएनौं। ठूला जातिका धनीमानीहरुले हामीलाई बस्तीबाट उठीबास लगाएर खेदे।’
मानव गोलबजार नगरपालिका-११ बलकवा बजार पुग्नुअघि मैनाबत्ती नदीको पुल पार गर्नुपर्छ। यो पुलमुनि मैनाबत्तीको बगरमा झण्डै ४० घर मुसहर परिवार बस्छन्। पूरै बस्तीमा अहिले अनिकाल छ। प्रायः सबै घरमा चुल्हो बाल्न हम्मेहम्मे छ। ओढ्ने ओछ्याउनेको कमी छ। काठपातको अभावले आगो बाल्न पनि मुस्किल छ। पश्चिमी सिरेटोले अधिकांश केटाकेटी बिरामी परेका छन्। भोकभोकै रात बित्छ।
नेपाली कांग्रेसका नेता रामवृक्ष साह भन्छन्, ‘शीतहलरका कारणले रोजगारी पनि पाइँदैन र काम गर्नसक्ने मौसम पनि छैन। तत्कालै मुसहर बस्तीमा खाद्यान्न, ओढ्ने, ओछ्याउने, न्यानो कपडा र औषधी उपचारको खाँचो छ। राहत नदिने हो भने मुसहर बालबालिकाहरू चिसोले मर्न सक्छन्। पूरै मुसहर बस्ती संकटमा छ।’
गोलबजार नगरपालिकाले अन्न र कपडा त परै जाओस्, जाडोमा दाउरा समेत दलित मुसहर बस्तीमा पुर्याउन सकेको छैन।
‘बजार क्षेत्रमा धनीमानी माझ दाउरा वितरण गरियो तर गरिब, दलित मुसहर समुदाय भएको स्थानमा नगरपालिकाको आँखा परेन,’ शुभनारायण सदाले आक्रोस पोख्दै भने, ‘पाँच पटक लीला मालिक र श्याम मालिक दाजुभाइलाई (सांसद लीलानाथ श्रेष्ठ र मेयर श्याम कुमार श्रेष्ठ) भोट हाल्यौं तर हाम्रो अवस्था यस्तै छ। पुलमुनि छौं।’
पुलमाथिबाट आउजाउ गर्नेहरूलाई पुलमुनिको मुसहर बस्ती कठाङ्ग्रिने शीतलहरमा भोको पेट सुतेको थाहा पाउँदैनन्। तर, नगरपालिकालाई पनि दलित मुसहर समुदायको अवस्थाबारे बोध र चेत नभएको मुसहर समुदायका अगुवा अरुण सदा बताउँछन्।
उनी भन्छन्, ‘यो पुलको आडैमा भवरी मेला (धार्मिक जात्रा) लाग्छ। आउँदो माघ १ देखि ७ सम्म यहाँ ठूलो मेला लाग्छ। मेलाका लागि पसल थाप्न जग्गा बाँडफाँट हुँदैछ। नगरपालिकाले जात्राका लागि लाखौं रुपैयाँ सहयोग दिएको छ तर यो मुसहर बस्तीमा नगरपालिकाको नजर पुगेको छैन।’
पुष २५, २०८१ बिहीबार १६:००:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।