अभियुक्त र आरोपीले घेरिएका पोखरेल सार्वजनिक लेखा समितिमै सभापति

अभियुक्त र आरोपीले घेरिएका पोखरेल सार्वजनिक लेखा समितिमै सभापति

काठमाडौँ : सार्वजनिक निकायको आर्थिक पारदर्शितामाथि निगरानी राख्ने दायित्व भएको सार्वजनिक लेखा समितिका सभापति छन् एमालेका सांसद ऋषिकेश पोखरेल। तर उनै पोखरेल भने अहिले गम्भीर वित्तीय अपराधमा जोडिएका अभियुक्त र आरोपीबाट घेरिएका छन्।

उनकी श्रीमती अन्जला कोइराला सहकारी ठगीको गम्भीर अपराधको अभियुक्त बनेकी छिन्। प्रहरीबाट पक्राउ पर्नबाट जोगिएर उनी बुधवार अदालतमा हाजिर भएर १० लाख धरौटीमा मुक्त भइन्।

बिहीबार उनै पोखरेलका स्वकीय सचिव अनिल पोखरेल एमबिबिएसको अध्ययनका लागि नाम निकालिदिन्छु भनेर ठगी गरेको रकम फिर्ता नगरेको आरोपमा पक्राउ परे।

सत्ताधारी दल एमालेको मोरङ जिल्ला सदस्य समेत रहेका उनीमाथि एबीबीबीएस अध्ययनका लागि सरकारी कोटामा नाम निकालिदिने भनेर सप्तरीका ५७ वर्षीय बौआलाल चौधरीसँग ३८ लाख ८० हजार रुपैयाँ लिएर ठगी गरेको आरोप छ।

प्रहरीले जाहेरी दर्ता गर्न अस्वीकार गरेको यो घटनामा अदालतको आदेशमा जाहेरी दर्ता भएसँगै उनी विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। पोखरेल ठगीमा जोडिएपछि पोखरेलले उनलाई स्वकीय सचिवको जिम्मेवारीबाट मुक्त गरेको थियो।

एमबिबिएसमा नाम निकालिदिने भनेर पैसा लिए पनि नाम ननिस्किएपछि पैसा फिर्ता माग्दा अनिलले उल्टो ५० लाख ऋण लिएको कपाली तमसुक बनाएर जवर्जस्ती हस्ताक्षर गराएको आरोप छ।

उनीमाथि कारबाही माग गर्दै पीडित कहिले एमाले पार्टी कार्यालय त कहिले प्रहरीकोमा धाए पनि न पैसा फिर्ता भयो न त प्रहरीले नै जाहेरी लियो।

अन्तमा उनी जबरजस्ती  ५० लाख ऋणको लिखत कपाली तमसुक बनाएको भन्दै बदरको मागसहित ठगीको रकम दिलाई पाउँ भन्दै साउन ३१ मा उच्च अदालत विराटनगर गएपछि अदालतले भदौ ३१ मा अनिलमाथि छानबिन गर्न आदेश दियो। त्यही आदेशको आधारमा प्रहरीले पहिला अस्वीकार गरेको जाहेरी दर्ता गर्यो।

श्रीमतीलाई लुकाएरै निस्कियो धरौटी

पोखरेलको श्रीमती अञ्जला उमागौरी सहकारीको बचत रकम ठगीको अभियुक्त हुन्। उनीसहितकाले उमा गौरी कृषि सहकारीले १४ करोड ५६ लाख हिनामिना गरेको खुलेको थियो।

सहकारी ठगीमा उनको संलग्नता खुले पनि पोखरेलको श्रीमती भएको आधारमा उनी पक्राउबाट जोगिँदै आएकी थिइन्। पक्राउ पुर्जी जारी भए पनि उनी पक्राउ परिनन्।

मंसिर २८ मा उनलाई फरार प्रतिवादी कायम गरेर २८ जनाविरुद्ध अदालतमा अभियोग पत्र दायर भयो। उनी फेला नपरेर फरार प्रतिवादी बनेकी थिइनन्। संरक्षण नभएको भए मुद्दा दर्ता भएको भोलीपल्ट विराटनगरको सहिद मैदानमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा विद्यालयको प्रतिनिधि भनेर जाँदा पक्राउबाट कसरी जोगिन सक्थिन् र। तर उनी पक्राउ परिनन्।

एकै पटक पुस २४ मा उनी अदालतमा हाजिर भइन्। जुन दिन हाजिर भइन् त्यही दिन थुनछेक बहस सकिएर धरौटीमा मुक्त भइन्।

पुष २५, २०८१ बिहीबार १४:३६:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।