आफ्नै विद्यालयकी छात्रा बलात्कार आरोपमा पक्राउ परेका व्यवस्थापन समिति अध्यक्ष लामा एमालेबाट निलम्बित

आफ्नै विद्यालयकी छात्रा बलात्कार आरोपमा पक्राउ परेका व्यवस्थापन समिति अध्यक्ष लामा एमालेबाट निलम्बित

काठमाडौं : नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका काठमाडौंको एक विद्यालयको व्यवस्थापक समितिका अध्यक्ष पूर्णमान लामामाथि अनुसन्धान भइरहेको छ।

आफ्नै विद्यालयमा अध्ययनरत एक नाबालिग विद्यार्थीलाई बलात्कार गरेको उजुरी बौद्ध प्रहरी वृत्त परेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो।

काठमाडौंको शंखरापुर नगरपालिका-१ का पूर्णमान बौद्ध प्रहरीको हिरासतमा छन्। उनीमाथि अहिले थप अनुसन्धान अगाडि बढेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए। 

‘बलात्कार गरेको उजुरी परेपछि उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइसकेका छौं। अहिले हामी अनुसन्धान गरिरहेका छौं’ उनले भने।

पक्राउ परेका लामा एमाले काठमाडौं जिल्ला सदस्यसमेत हुन्। उनी पक्राउ परेसँगै एमाले जिल्ला अध्यक्ष दीपक निरौलाले विज्ञप्ति जारी गर्दै उनलाई निलम्बन गरिएको जानकारी गराएका छन्।

उनले पार्टीको ‘मर्यादामा आँच’ आउने गतिविधि गरेको एवं ‘असामाजिक क्रियाकलाप’मा संलग्न भएको भन्दै एमाले काठमाडौंले उनलाई निलम्बन गरेको विज्ञप्तिमा उल्लेख छ।

पुष २५, २०८१ बिहीबार १४:२५:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।