संसदीय समितिमा सभापति राजकिशोरले प्रेम सुवाललाई ‘औँला तल राख्नुस्, नौटङ्की गर्ने?’ भनेपछि...(संवादसहित)

संसदीय समितिमा सभापति राजकिशोरले प्रेम सुवाललाई ‘औँला तल राख्नुस्, नौटङ्की गर्ने?’ भनेपछि...(संवादसहित)

काठमाडौं : प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादव र नेपाल मजदुर किसान पार्टी(नेमकिपा) सांसद प्रेम सुवालबीच चर्काचर्की परेको छ।

बिहीबारको बैठकमा नेपाल वायुसेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफलपछि निर्णय गर्ने क्रममा समितिमा उपस्थित नभएका सांसदको संयोजकत्वमा उपसमिति बनाइएको भन्दै सांसद सुवालले असहमति जनाएपछि चर्काचर्की भएको हो।

बैठकमा राजकिशोर निकै आक्रामक रुपमा प्रस्तुत भएर सुवाललाई ‘औँला तल राख्नुस्, नौटङ्की गर्ने’ भनेपछि दुवैबीच चर्काचर्की शुरू भयो। त्यसपछि सुवालले बैठक निरङ्कुश ढङ्गले चलाएको आरोप लगाउँदै राणाको अवतार नलिन आग्रह गरे। लगत्तै यादवले बैठक स्थगितको घोषणा गरे।

समिति सभापति राजकिशोर यादव जनता समाजवादी पार्टी नेपालका सांसद् हुन्। सत्ताधारी दलले उनलाई समिति सभापतिमा चयन गरेको हो।

यस्तो छ उनीहरूबीच चर्काचर्की भएको सम्वाद:-

राजकिशोर: औँला तल राख्नुस्, औँला तल राख्नुस्, नौटङ्की गर्ने?

प्रेम: तपाईं निरङ्कुश नहुनुस्, राणाशासन हैन यो।

राजकिशोर: तपाईं चैँ हिरो नबन्नुस्।

प्रेम: मैले असहमति छ भनेपछि किन भनेर सोध्नुपर्दैन? राजा हुत्याएजसरी तपाईं यो समितिबाट हुत्तिन्छ होस् गर्नुस्। तपाईं बढ्दा नहुनुस्, तपाईं पनि एक्लै हो म पनि एक्लै हो। के फुर्ती गर्छस् तपाईंले। तपाईं निरङ्कुश बन्ने?

राजकिशोर: बन्ने

प्रेम: ठिक छ, ठिक छ। तपाईं कुन दिन हुत्तिन्छ होस गर्नुस्। तपाईं सत्तापार्टीको पुच्छर भएर नहिड्नुस्। समितिको नेता बन्नुस्।

राजकिशोर: यहाँ माओवादी सत्तापक्ष हो?

प्रेम: हिजो प्रधानमन्त्री र मन्त्री भएका सबै सत्तापक्ष हो। कुन दिन सिद्दिन्छ यो सभापति अनि थाहा हुन्छ।

पुष २५, २०८१ बिहीबार १४:०६:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।