क्षतविक्षत भएको तीन महिनापछि च्यासल फुटबल मैदानको मुहार बदल्ने प्रयास
काठमाडौँ : असोज १२ मा आएको बाढीले ललितपुरको च्यासलमा रहेको बागमती किनारको फुटबल रंगशाला ध्वस्त बनायो। बाढीले खेल मैदान सहितको अन्य भौतिक संरचनामा समेत क्षति पुर्यायो।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले दशरथ रंगशालाको विकल्पमा बनाएको फुटबल रंगशाला बाढीपछि पूर्ण रूपमा बन्द रहेकोमा ३ महिनापछि मर्मत सुरु गरेको छ। अहिले फुटबल मैदान सहित रंगशालाको विभिन्न भौतिक संरचनाभित्र थुप्रिएको माटो निकाल्ने र सफा गर्ने काम भइरहेको छ।
राखेपले ५ वर्ष लगाएर सन् २०२१ मा बनिसकेको च्यासल रंगशालालाइ अहिले फुटबल खेलको अभ्यास गर्न मिल्नेगरी च्यासल यूथ क्लबको समन्वयमा ३ महिनापछि मर्मत सुरु गरेको हो।
२८ करोड बढीको लगानीमा निर्माण गरिएको रंगशालाको बागमती किनारतर्फको भागमा भने पर्खाल लगाइएको थिएन। सोही कारण बर्सेनि वर्षाको समयमा मैदानमा बाढी पस्ने गरेको छ।
बाढीका कारण प्याराफिट मुनि बनाइएको खेलाडीले कपडा बदल्न प्रयोग गर्ने कोठा, रेफ्री कोठा, मेडिकल कोठा, मिडिया सेन्टर, शौचालय समेतमा फोहोर र माटो जमेको थियो।
पुष २५, २०८१ बिहीबार १३:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।