‘आउट अफ फर्म’मा रहेका रोहित र विराटलाई रविको सुझाव- ‘घरेलु क्रिकेट खेलेर आउनू’
एजेन्सी : भारतका पूर्व प्रशिक्षक रवि शास्त्रीले इङ्ल्यान्ड भ्रमणलाई ध्यानमा राखेर विराट कोहली र रोहित शर्मालाई घरेलु क्रिकेट खेल्न सुझाव दिएका छन्।
आईसीसी रिभ्यूमा शास्त्रीले फर्म र फिटनेस खेलका लागि एकदमै महत्त्वपूर्ण हुने बताउँदै शास्त्रीले घरेलु क्रिकेटले आफ्नो फर्म पत्ता लगाउन सहयोग पुग्ने बताए।
उनले भने, ‘आगामी छ महिनामा धेरै एकदिवसीय क्रिकेट खेल्न बाँकी छ, म च्याम्पियन्स ट्रफीलाई पनि नजिकबाट नियालिरहेको छु। यसबीचमा केही समय घरेलु क्रिकेट खेल्नु महत्त्वपूर्ण हुन्छ।’
रोहितले अन्तिम टेस्टमा अष्ट्रेलियासँगको सिरिज ३-१ ले पराजय भोगेपछि शास्त्रीले यस्तो सुझाव दिएका हुन्। रोहितले सिरिजमा पाँच इनिङ्समा ३१ रन मात्र बनाएका थिए।
पर्थमा भारतको २९५ रनको जितमा कोहलीले शतक बनाउँदा पर्थको दोस्रो इनिङ्स बाहेक हरेक पटक उनी स्लिपमा क्याचआउट भएका थिए।
टोलीका मुख्य प्रशिक्षक गौतम गम्भीरले पनि रातो बलको क्रिकेट खेल्ने हो भने खेलाडीले घरेलु क्रिकेट खेल्नका लागि आफूलाई उपलब्ध गराउनुपर्ने बताएका थिए।
शास्त्रीको सुझाव व्यावहारिक लागे पनि क्रिकेट क्यालेन्डर यति व्यस्त छ कि यी दुई खेलाडीले कुनै पनि किसिमको प्रथम श्रेणी क्रिकेट खेल्ने मौका पाउन सक्दैनन्।
रणजी ट्रफीको अन्तिम चरणमा ध्यान केन्द्रित हुनुअघि जनवरीको तेस्रो साताबाट भारतमा ह्वाइट बल क्रिकेट सुरू हुनेछ।
कोहली र रोहितले च्याम्पियन्स ट्रफीलाई ध्यानमा राखी इङ्गल्याण्ड विरुद्धको घरेलु एकदिवसीय शृंखला खेल्ने अपेक्षा गरिएको हुनाले जनवरी २३ बाट सुरू हुने रणजी ट्रफीको सातौं राउण्ड खेल्ने सम्भावना मात्रै रहेको छ।
पुष २५, २०८१ बिहीबार १३:२८:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।