बुवाआमा बन्न लागेका कमल र मेलिनालाई युट्युबरले घेरेपछि...

बुवाआमा बन्न लागेका कमल र मेलिनालाई युट्युबरले घेरेपछि...

काठमाडौं : कुनै पनि फिल्मको प्रिमियरमा सोही फिल्मका कलाकारहरू आकर्षण र चर्चाको केन्द्रविन्दुमा हुनुपर्ने हो। मिडियाले आफ्नो फिल्मको प्रचारप्रसार गरोस् भनेर नै निर्माता निर्देशकले फिल्मका प्रिमियर आयोजना गर्छन्। तर, कतिपय फिल्मको प्रिसियरमा भने फिल्मका कलाकार भन्दा बोलाएका पाहुना आकर्षणको केन्द्रविन्दु बनिदिन्छन्।

बुधबार काठमाडौंको बिग मुभिजमा यस्तै भयो। फिल्म ‘कार्साङ’को प्रिमियरमा कलाकारभन्दा पनि पाहुनाका रूपमा आएका गायक कमल खत्री र गायिका तथा उनकी श्रीमती मेलिना मैनाली चर्चाको विषय बने। खासै फिल्मको प्रिमियरमा नदेखिने उनीहरू हलमा पुग्दा मिडियाकर्मीले उनीहरूलाई छोपिहाले।

हलको अगाडि फिल्मका कलाकार दयाहाङ राई, जितु नेपाल, दिया मास्के, सिर्जना निङलेखु सुब्बा जस्ता कलाकारहरू उभिएको भए पनि मिडियाकर्मीको क्यामेराले कमल र मेलिनालाई छाडेनन्। कारण थियो- कमल र मेलिना बुवाआमा बन्न लाग्नु।

केही दिनयता कमल र मेलिनाले प्रेग्नेन्सीको फोटो तथा भिडियो सुट गरेर सामाजिक सञ्जालमा राखेका छन्। उनीहरूलाई फ्यानका साथै सहकर्मी कलाकारहरुले पनि बधाई दिइरहेका छन्। बुवाआमा बन्न दुई महिना बाँकी रहँदा उनीहरु सञ्जालमा चर्चामा छन्।

असजिलो तरिकाले हिँडिरहेकी मेलिनालाई युट्युबरले लामो समय उभ्याएरै अन्तर्वार्ता लिइरहेका थिए। चार बजे फिल्मको प्रिमियर भनेर बोलाइएको कार्यक्रम साँढे पाँच बजेपछि सुरु भयो। उनीहरू हलमा प्रवेश गरेदेखि अन्तर्वार्ता लिनेको लाइन थियो भने हलबाट छुटेपछि उनलाई युट्युबरले घेर्न छोडेका थिएनन्।

पुष २५, २०८१ बिहीबार १२:३३:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।