मेकअप आर्टिस्ट कमलको हिजोको कुरा : बसन्तपुरमा सुटिङ हुँदा देवानन्द र हेमा मालिनीले गाला मुसारेपछि फिल्ममै लागेँ
बाल्यकालमा जो-कोहीको सपना हुन्छ, ठूलो भएपछि डाक्टर, इन्जिनियर अनि पाइलट बन्ने। तर, कमलप्रसाद भट्टलाई भने सानैदेखि यी तीनै पेशाले कहिल्यै तानेन, बरु हनुमान ढोका अगाडि चट्ट परेको ड्रेस लगाएका आर्मी बन्ने सोच पो पलायो।
त्यो बेलामा नयाँ कपडाका लागि दशैं नै कुनुपर्ने भएकाले घरमा दशैंमा आर्मीको ड्रेस मागे उनले। सानोमा आर्मीको कपडाले आकर्षित गरे पनि उनी आर्मी भने बन्न सकेनन्। फिल्मका कलाकार सिंगार्ने मेकअप आर्टिस्ट बने।
बंगलादेशबाट नेपाल घुम्न आएका सलिम महम्मत सलिमले हो उनलाई मेकअप आर्टिस्ट बनाएको। त्यसअघि नेपालमा बन्ने फिल्महरूमा मेकअपका लागि भारत वा बंगलादेशबाट आर्टिस्ट बोलाउने गरिन्थ्यो। सलिमको सहयोगले उनी नेपालकै पहिलो मेकअप आर्टिस्ट बनेको दाबी गर्छन्। त्यसपछि भारत र बंगलादेशबाट आर्टिस्ट बोलाउनुपर्ने झन्झट पनि हट्यो।
मेकअपसँगै ६० भन्दा बढी फिल्म तथा टेलिफिल्ममा पनि अभिनय गरे उनले। ‘उपहार’, ‘छक्का पञ्जा’जस्ता ठूला पर्दाको फिल्ममा समेत अभिनय गरेका उनी ‘हल्का रमाइलो’, ‘राधाकृष्ण’, ‘जुठे’ जस्ता टेलिफिल्ममा समेत कलाकारको रुपमा देखिन्छन्। २०१६ सालमा काठमाडौंको नरदेवीमा जन्मिएका उनै भट्टले आफ्ना ‘हिजोका कुरा’ यसरी सुनाएः
त्यो असन र इन्द्रचोक
काठमाडौंको नरदेवीमा तीन दाजुभाइमध्ये माइलो हुँ म। पहिला नरदेवी एकदम सुन्दर थियो। दशैंमा धानको बासना हरर आउँथ्यो। जताततै अम्बा पाकेको हुन्थ्यो। सबैतिर खेतैखेत। एकदमै पुराना झिगटीका घरहरू थिए। तीनदेखि चार तालका माटाका घर नै सबैभन्दा ठूला हुन्थे।
म अहिले ६८ वर्षको पुगेँ। मैले थाहा पाउँदा यहाँ पसल जम्मा दुईवटा मात्रै थियो। तरकारी किन्न र चिया खानुपर्यो भने असन बजार र इन्द्रचोक जानुपर्थ्यो। अहिलेको जस्तो घरैपिच्छे चिया पसल थिएनन्। तामाका पैसा हुन्थे। अरु पैसा त पछि आएको हो।
त्यतिबेला ट्वाइलेटको खासै व्यवस्था नहुने भएकाले बालबच्चाले घरअगाडि नै गर्थे भने ठूला मान्छे ताम्सीपाखा जान्थे। ताम्सीपाखा भनेको ढल्कुतिर जाने बाटोमा पर्छ।
उपत्यकाभरी खेतैखेत भएकाले जताततै धाराहरूमा दिनरात पानी बगिरहेका हुन्थेँ। नुहाएर मात्रै खानपिमा जुट्थे मानिसहरू। छुवाछुतको कुरा हुन्थ्यो। चोरी चकारी, झुटो बोल्नेहरू पाउनै मुस्किल पर्थ्यो। झुट बोल्दा पाप लाग्छ भन्ने डर थियो।
स्कुलमा केटा र केटीको बोलचाल हुँदैन थियो
मख्खन टोलमा तारिणी बाल विद्यालय थियो, त्यहाँ मैले पाँच कक्षासम्म पढेँ। त्यसपछि बसन्तपुरको नवआदर्श निम्न माध्यमिक विद्यालयमा सात कक्षासम्म पढेँ। मैले एसएलसी चाहीँ नेपाल आदर्श माध्यमिक विद्यालयबाट ३७ सालमा दिएको हुँ। पास पनि भएँ।
त्यो समयमा केटीहरूले खासै पढेको देख्न पाइनँ। मान्छेहरूमा छोरीलाई पनि पढाउनुपर्छ है भन्ने ज्ञान आउन थालेकाले एकदमै कम मात्रै केटीहरू हुन्थे। स्कुलमा अहिलेको जस्तो केटाकेटी बोल्ने जिस्किने भन्ने हुँदै हुँदैनथ्यो।
एउटा केटी कोही केटासँग झुक्किएर बोल्यो भने अरु केटीहरू त्यो केटीसँग बोल्दैनथे। मैले केटीसँग बोलेको दश कक्षा पुगेपछि मात्रै हो। त्यो बेला केटीसँग बोल्नु गौरवको विषय हुन्थ्यो। यति भनेपछि समय कस्तो थियो भनेर सहजै अनुमान गर्न सकिन्छ।
कलाकार बन्न पुर्पुरोमै लेख्नुपर्दोरहेछ
२०३० साल हाराहारीको कुरा हो, त्यतिबेला हनुमान ढोका अगाडि एउटा नाङ्ले पसल थियो। जहाँ चुरोट, चकलेट लगायतका चिजहरू बिक्री हुन्थे। मेरो गुच्चा खेल्ने, लुकामारी पनि खेल्ने ठाउँ पनि हनुमान ढोका नै थियो। त्यो नाङ्लो पसलले दाईले मलाई पसल हेर्न लगाएर ११-१२ बजेतिर खाना खान घर जान्थेँ।
त्यो पसलमा बसेर १-२ पैसाको चुरोट बेच्न त मलाई पनि आउँथ्यो। पैसा फिर्ता दिनुपर्छ, अर्काको थैलोबाट निकालेर साटिदिँदा चोर दोष लाउलान् भनेर घोस्से मुन्टो लाएर बस्थेँ। पसलमा कोही पनि सामान किन्न नआओस् र पैसा साट्न नखोजोस् भन्ने मलाई लाग्थ्यो।
त्यही समयमा एक जना विदेशी केटीको हिड्ने समय हुन्थ्यो। उनी चुरोट किन्न आइनँ। तर मैले निदाएजस्तो गरेँ। उनले ‘हेलो सिगरेट’ भनेर निकैबेर बोलाएपछि घच्घच्याइन्। म ननिदाए पनि निद्रामै झस्किएको झैँ एक्टिङ गरे। म झस्किएको देखेर ती कुइरेनी खुब हाँसिन।
भोलिपल्ट एउटा कुइरे केटोसँग क्यामेरा र बुम सहित बोकेर आइन्। उनीहरूलाई लागेछ- ‘त्यो मेरो नै पसल हो’। उनीहरू खिच्न आएको भनेपछि म अक्क न बक्क परेँ। आफूलाई इङ्लिस आउँदैन। हनुमान ढोकाकै एउटा टुरिस्ट गाइडले मलाई पछि सम्झायो। उनीहरूले त्यो नाङ्ले पसलमा मलाई बस्न लगाए र विहान घरबाट ल्याउने देखि बेलुका गएसम्मको स्टोरी खिचे। मैले त्यसरी नै एक्टिङ गरेँ।
एक्टिङ गरेबापत कति पैसा लिनुहुन्छ भनेर सोधे। त्यो समयमा हामीले तामाका सिक्काबाहेकका पैसा देखेकै थिएनौँ। उनीहरूले जे भन्छौ त्यहि किन्दिन्छु भने। त्यतिबेला हनुमानढोकामा बसेका आर्मीको ड्रेस खुब मनपर्थ्यो मलाई, त्यही किन्दिनु भनेँ। दशैंभन्दा बाहेकका समयमा कपडा देख्न नपाउने मैले एक दिनको अभिनयले कपडा अनि ५० रुपैयाँ पनि पाएँ। मलाई त के-के नै पाएजस्तो भइहाल्यो नि!
मलाई मुख्य पात्र बनाइएको वृत्तचित्र भए पनि त्यसपछि पनि बसन्तपुरमा धेरै अंग्रेजी फिल्मको सुटिङ भइरहन्थे। एउटा फिल्ममा मलाई पासिङको रोल दिइयो। त्यतिबेला म सानै थिएँ। अंग्रेजीमा लेखेकाले फिल्मको नाम पनि याद छैन।
त्यसपछि हनुमान ढोकामा बलिउड अभिनेता देवानन्दको सुटिङ आयो। त्यो फिल्मको नाम मलाई अहिले पनि याद छ, ‘जाने मेरा नाम’। त्यसपछि ‘हरे राम हरे कृष्ण’आयो। यी दुवै फिल्ममा म जोडिन पुगेँ। उनीहरूले मलाई सहयोगीको रूपमा लिए। म सानै भएकोले होला देवानन्दले मेरो गाला मुसार्दे ‘क्या हे भाइ’ भन्थे।
मलाई हिन्दी फर्काउन आउँदैनथ्यो। म मुसुक्क हाँस्थे। त्यतिबेला नेपाली फिल्महरू खासै हुँदैनथ्यो, हेर्ने भनेको हिन्दी फिल्म नै हो। त्यसैले पनि हिरोले नै मेरो गाला छोएपछि मलाई के चाहियो र! हेमा मालिनीले ‘आओ बेटा’ भनेको कुरा अहिले पनि म झलझली सम्झन्छु। उनीहरूले मलाई फिल्ममा पासिङ रोल खेलाएका थिए।
देवानन्द र हेमा मालिनीले गाला मुसारेको अनि फिल्ममा समेत खेलाएपछि मलाई मलाई के चाहियो र, फुर्ती लगाउन थालिहालेँ। पछि फिल्म हेर्दा मेरो फुर्ती सब हरायो। फिल्ममा मेरो सिन फुत्त आयो अनि हरायो। यहीँबाटै हो मैले फिल्मबारे अलि-अलि ज्ञान पाएको।
बंगलादेशको मेकअपमेन घरमै डेरामा बस्यो, उसैले मलाई मेकअप सिकायो
बंगलादेशको सलिम महम्मत सलिमले मलाई मेकअप सिकाए। नेपाल घुम्न आएका उनले हाम्रो घरमा भाडा लिएर बस्यो। खासमा ऊ बंगलादेशी फिल्मको मेकअप आर्टिस्ट रहेछ।
ऊ मुसलमान रैछ। हामी त बाहुन, तर मेरो बोलीमा भने नेवार लवज आउँछ, सायद नेवार समुदायमा बसेकाले पनि होला। त्यतिबेला मुसलमानलाई बाहुनका घरमा छिराउने चलन थिएन। घर शुद्धि गर्नुपर्छ भन्थे। बुवालाई त्यतिबेलासम्म ऊ को हो भन्नेबारे थाहा थिएन।
ऊ हाम्रोमा बसेको समयमा मलाई मेकअप गर्न सिकाउँथ्यो। नेपालमा मेकअप आर्टिस्टको काम पाइन्छ कि भनेर नेपाल आएको रहेछ ऊ। तर, त्यतिबेला नेपालमा एकदमै कम मात्र फिल्म सुटिङ हुन्थ्यो।
मलाई मेकअप सिकाउनु अघि हिरो-हिरोइनको पोस्टकार्ड दिएर त्यस्तै मेकअप गर भन्थ्यो। उसले भनेजस्तो बनाए ‘स्याबास बेटा’ भन्थ्यो, नभए भकुथ्र्यो। तर बुवाले कसैले केही कुरा सिकाए गुरु मान्नु भनेकाले हप्काइ खाएरै भए पनि सिकेँ।
एकदिन के भयो भने मेरो बुवाले सलिमलाई घर सोध्नुभो। उसले बङ्गलादेश भन्यो। के थरि भनेर सोधेपछि मुसलमान भन्यो। लगत्तै बुवाले तुरुन्तै डेरा छोड्न भन्नुभो। अनि म आफैँले उसको लागि डेरा खोजिदिएँ।
निस्कने बेलामा उसले मलाई ‘तिमी नेपालमा एकदिन अवश्य राम्रो कलाकार बन्छौ’ भनेका थिए।
‘मेकअप गर्दा कुनै पनि केटीलाई आँखा नलगाउनु’
ती गुरुले ‘मेकअप सिकाउँदा कुनै पनि केटीलाई आँखा नलगाउनु’ भनेर सिकाए। त्यो समयमा कोही पुरुषले महिलालाई छोयो भने पनि बात लाग्थ्यो। केटीको मेकअप गर्दा इमोसन दबाउनुपर्छ, काममा मात्र फोकस हुनुपर्छ भन्थे गुरुले। मलाई कसम समेत खुवाएका थिए उनले।
यसका अलावा उनले डिरेक्टरको आवश्यकता अुनसार मेकअप गर्न र सम्मानपूर्वक नबोलाएको ठाउँमा नजानु भनेर समेत सिकाए उनले। उनको उपदेश मैले अहिलेसम्म पनि पछ्याइरहेको छु। मैले मेकअप थाल्दा नेपालमा कोही पनि मेकअपमेन थिएनन्। भारतबाट ल्याउनुपर्थ्यो।
तर अहिले त धेरै फरक छ। यहाँ टेक लिँदैछ, उता बसेर मेकअप गर्दैछ। डिरेक्टरले ‘ओ मेकअपमेन’ भनेर बोलाउँछ। मेकअप गर्नेलाई रेक्सपेक्ट नै छैन।
पुष २५, २०८१ बिहीबार ११:५०:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।