खुम्बुमा भूकम्पको पराकम्प

खुम्बुमा भूकम्पको पराकम्प

सोलुखुम्बु : सोलुखुम्बुको खुम्बु क्षेत्रमा पटक-पटकको भूकम्पका पराकम्प गएको छ। मङ्गलबार गएको ठूलो भूकम्पपछि खुम्बु क्षेत्रमा साना पराकम्प निरन्तर गइरहेका छन्। 

आज बिहान ३ः३० बजे र ५ः३० बजे खुम्बु क्षेत्रको दिङबोचे क्षेत्रमा भूकम्पका पराकम्प महसुस गरिएको छ। त्यसपछि बिहान ९ः३० बजे थाम्बुचे क्षेत्रमा र साँझ ५ः३० बजे लुक्ला तथा पैयाँ क्षेत्रमा पनि पराकम्पका झट्का अनुभव गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। 

डिएसपी द्वारिकाप्रसाद घिमिरेले पराकम्पका कारण स्थानीय बासिन्दामा त्रास बढेको जानकारी दिए। 

'खुम्बु क्षेत्र जहाँ मङ्गलबार गएको भूकम्पको केन्द्र तिब्बत नजिक पर्छ, त्यहाँ धेरै पराकम्प गइरहेका छन्, जसले गर्दा स्थानीयमा त्रास उत्पन्न गराएको छ तर सम्भावित सहयोगका लागि हाम्रा प्रहरीहरू स्थानीयसँगै छन्, उनले भने। 

पराकम्पले छिनछिनमा धक्का दिन थालेपछि स्थानीय घरभित्र छिर्नसमेत डराइरहेको स्थानीय पासाङ शेर्पाले बताए। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मङ्गलबार बिहान ६ बजेर ५० मिनेट जाँदा नेपाल-चीन सीमा क्षेत्रमा पर्ने तिब्बतमा ७ म्याग्निच्युडको ठूलो भूकम्प गएको थियो।

यस भूकम्पका पराकम्प नै खुम्बु क्षेत्रमा महसुस भएको अनुमान गरिएको छ। खुम्बु तिब्बतको नजिक पर्ने भएकाले त्यस क्षेत्रमा बढी पराकम्पको धक्का महसुस गरिएको हुनसक्ने बताइएको छ।  

पुष २४, २०८१ बुधबार २१:४७:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।