उकेरा टप फाइभ : गम्भीर वित्तीय अपराधमा प्रहरी निरीहतादेखि नाबालिका छोरीहरूलाई आमाले गरेको 'हत्या'सम्म

उकेरा टप फाइभ : गम्भीर वित्तीय अपराधमा प्रहरी निरीहतादेखि नाबालिका छोरीहरूलाई आमाले गरेको 'हत्या'सम्म

काठमाडौं : मोरङको धनपालथान-४ स्थित उमागौरी कृषि सहकारीको रकम अपचलनमा नाम जोडिएकी प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अन्जला कोइरालालाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ। जिल्ला अदालत मोरङका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले १० लाख धरौटीमा छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए। अदालतले पुस २ मा पक्राउ पुर्जी जारी गरेपछि उनी फरार थिइन्। त्यसपछि बुधबार जिल्ला अदालत मोरङमा हाजिर भएकी कोइरालाको आजै बयानपछि थुनछेक बहस भएको थियो।

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ। बिहान नौ बजेर ३८ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो। मंगलबार विहान तिब्बत केन्द्रविन्दु सात म्याग्नेच्यूडको भूकम्पपछि धेरै परकम्पहरु आइरहेका छन्।

एफवानसफ्टको खाताबाट ३ करोड ३९ लाख रुपैयाँ चोरी भएको घटनामा पक्राउ परेका ९ जनालाई धरौटीमा छोड्न अदालतबाट आदेश आएको छ। बुधवार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले ९ जना प्रतिवादीलाई छोड्न आदेश दिएको हो।अदालतले राहुल ठाकुर र पुरुषोत्तम शाहसँग ५ लाख, कमल थापा मगरसँग २ लाख, कृष्णा रमन राउत, त्रिगुणरत्न बज्राचार्य, सञ्जीवकुमार शर्मा, सन्देश राई र सागर कुमार साहसँग १ लाख, दीपक थापामगरसँग ५० हजार रुपैयाँ धरौटी माग गरेको हो।

सत्तारूढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ०८७ सालमा संविधान संशोधन हुन्छ भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिमा विमति जनाएका छन्। झापाको कचनकवलमा बुधबार भएको कार्यक्रममा बोल्दै महामन्त्री शर्माले प्रधानमन्त्री ओलीको २०८७ सालमा मात्रै संविधान संशोधन हुन्छ भन्ने भनाइप्रति विमति राखेका हुन्। त्यसअघि गत मंगलबार राष्ट्रिय सभामा प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्र पहिलो ठूलो दल भएकाले संविधान शंसोधन अहिले गर्न नसकिने भन्दै ०८७ मात्रै त्यो सम्भव हुने भनेका थिए।

लस एन्जलसको जंगलमा लागेको आगो अमेरिकामा फैलिएको छ। २० एकड क्षेत्रफलमा सुरु भएको आगलागी केही घण्टामै १२ सय एकडमा फैलिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। त्यहाँबाट ३० हजार मानिसलाई बाहिर निकाल्न निर्देशन दिइएको दमकल विभागका प्रमुख क्रिस्टिन क्राउलीले जानकारी दिएको समाचारमा उल्लेख छ। यस वनको आगलागीबाट १३ हजार भवन जोखिममा छन्।

दक्षिण-पश्चिम चीनको स्वायत्त क्षेत्र तिब्बतको दिंग्री काउन्टीमा मंगलबार बिहान आएको ६.८ म्याग्निच्युडको भूकम्पपछि बुधबार दिउँसोसम्म कूल ६४६ पराकम्पनहरू पत्ता लागेको क्षेत्रीय सरकारले जनाएको छ। क्षेत्रीय आपतकालीन व्यवस्थापन विभागका प्रमुख होङ लीका अनुसार सबैभन्दा ठूलो पराकम्पनको म्याग्निच्युड ४.४ थियो। यो केन्द्रविन्दुबाट करिब १८ किलोमिटर टाढा थियो। भूकम्पमा १२६ जनाको मृत्यु भएको छ भने अन्य १८८ जना घाइते भएका छन्। भूकम्पप्रभावित क्षेत्रमा दूरसञ्चार, सडक र बिजुली सेवा पुनरर्स्थापना गरिएको छ।

अब उकेरामा प्रकाशित टप फाइभ समाचार: 

पछिल्लो समय नेपालमा व्यक्तिगत बैंक खाताहरू भाडामा लगाएर हुने वित्तीय अपराधको संख्या बढ्दो छ।
अपराधको शैली :
-सामाजिक सञ्जालमार्फत सजिलै पैसा कमाउन सकिने भन्दै युवाहरूलाई लोभ्याउने
-फेसबुक, ह्वाट्सएप र टेलिग्राम जस्ता प्लेटफर्म प्रयोग गरी सम्पर्क गर्ने
-खाता प्रयोग गरेबापत कमिसनको प्रलोभन दिने
-धेरैजसो खातावालाहरू आफू अपराधमा संलग्न भएको थाहै नपाई फस्ने

प्रमुख घटनाहरू:
-एफवानसफ्टको सिटिजन बैंक खाताबाट ३ करोड ३९ लाख रुपैयाँको अनधिकृत कारोबार
-अनलाइन जुवाको रकम कारोबारका लागि बैंक खाता भाडामा लिने क्रम बढेको
-वुल्फत्रिपलसेभेन जुवा प्रकरणमा २४ करोड रुपैयाँको कारोबार
पूरा समाचार: गम्भीर वित्तीय अपराधमा व्यक्तिगत बैंक खाता भाडामा, प्रहरी निरीह, नियामक लापर्बाह

टीयू क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग अन्तर्गत कर्णाली याक्स र काठमाडौं गुर्खाजबीचको खेल चलिरहेको थियो। मैदानमा खेल हेर्न पुगेका थिए भारतीय नागरिक रोहित शर्मा। उनी भारतदेखि एनपिएलकै लागि नेपाल आएका थिए। उनको उद्देश्य खेल हेर्नु थिएन, जुवा खेलाउनु पनि थियो। खेल सुरू भएसँगै उनले मैदानमै बसेर जुवा सुरू गरे। उनले पहिलो दाउ खेले ‘कर्णाली याक्सले काठमाडौं गूर्खाजविरुद्ध खेल जित्नेछ। त्यसका लागि उनले बाजी राखे एक लाख १४ हजार भारू अर्थात् एक लाख ८४ हजार नेपाली रुपैयाँ।
पूरा समाचार: एनपिएलमा जुवा खेलेका भारतीयको कारोबार २५ करोड, चितवन-काठमाडौं-जनकपुर-सुदूरपश्चिम र पोखरामा बोली

सल्यानमा दुई नाबालिका छोरीहरूको हत्या गरेको आरोपमा आमा पक्राउ परेकी छन्। आज बिहान बनगाड कुपिण्डे नगरपालिका-११ स्थित सिस्नेपातलमा दुई नाबालिका दिदीबहिनी घरभित्रै मृत भेटिएका थिए। २६ वर्षीया पूर्णिमा रानामगरले आफ्नै ३ वर्षीया छोरी करिष्मा रानामगर र ६ महिनाकी छोरी राघवी रानामगरको घाँटी थिचेर हत्या गरेको सल्यानका प्रहरी प्रमुख डिएसपी केशर न्यौपानेले जानकारी दिए।
पूरा समाचार: नाबालिका छोरीहरूको हत्या आरोपमा आमाको बयान 'कुरा गर्दागर्दै श्रीमानसँग झगडा भयो, त्यही रिसमा उनीहरूलाई मारें'

पछिल्लो समय वन्यजन्तुको सङ्ख्यामा वृद्धि तथा बासस्थानमा भएको क्षयीकरण एवं सङ्कुचनले गर्दा वन्यजन्तु आफ्नो बासस्थान छाडी गाउँबस्तीमा पस्ने गरेका छन्। यसबाट संरक्षित क्षेत्रभित्र तथा यसको वरिपरि बसोबास गर्ने समुदायको वन्यजन्तुबाट मानवीय तथा आर्थिक क्षति हुँदै आएको छ। हात्ती, बाघ, गैँडा, हिउँ चितुवा, हिमाली कालो भालु, काठे भालु, बाँदरलगायत वन्यजन्तुको आक्रमणबाट मानवीय क्षति (मृत्यु तथा घाइते) बालीनाली, घर, गोठको क्षति हुने गरेको छ। यो अवस्थामा मानव-वन्यजन्तु द्वन्द्व एक टड्कारो समस्याका रूपमा बढ्दै गएको छ। आर्थिक वर्ष २०७९/०८० मा मात्र नेपालभर वन्यजन्तुबाट मृत्यु हुने मानिसको सङ्ख्या ३९, सामान्य घाइते सङ्ख्या ७२ र सख्त घाइते हुनेको सङ्ख्या एक सय २४, घरगोठको क्षति पाँच सय ३१ रहेको छ।
पूरा समाचार: बढ्दो मानव-हात्ती द्वन्द्व : २० वर्षमा २७४ जनाको मृत्यु, कसरी हुन्छ समाधान?

नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेनमार्कको स्वायत्त क्षेत्र ग्रिनल्याण्ड कब्जा गर्न सैन्य कारबाही गर्ने सम्भावनालाई अस्वीकार नगरेपछि जर्मनीले बुधबार उनलाई सीमाहरू बलपूर्वक परिवर्तन गर्न नहुने बताएको छ। जर्मन सरकारका प्रवक्ता स्टेफेन हेबेस्ट्राइटले संयुक्त राष्ट्रसंघको बडापत्र जस्ता अन्तर्राष्ट्रिय सम्झौताहरूलाई औंल्याउँदै ट्रम्पको टिप्पणीको जवाफमा भनेका छन्, 'जहिले पनि दृढ सिद्धान्त लागू हुन्छ... कि सीमाहरू बलपूर्वक सार्न पाइँदैन।' मङ्गलबारको एक पत्रकार सम्मेलनमा ट्रम्पले ग्रिनल्यान्ड र पनामा नहरमाथि उनले संयुक्त राज्य अमेरिकाको नियन्त्रण चाहेको बताए।
पूरा समाचार: ट्रम्पको धम्कीपछि जर्मनीले भन्यो 'सीमाहरू बलपूर्वक सार्न पाइँदैन'

पुष २४, २०८१ बुधबार २१:३०:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।